काठमाडौं । विद्युत् प्रणालीको स्तरोन्नति तथा नियमित मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा बन्द गर्ने भएको छ।
प्राधिकरणको रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले ११ केभी एक्सएलपीई केबल जडान, प्रिभेन्टिभ मेन्टिनेन्स र चार्जिङ कार्यका लागि विद्युत् कटौती गर्न लागेको जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार गैह्रीधारा फिडरअन्तर्गत लैनचौर चोक, उत्तरढोका, कैलाशचौर, खरेल टोल, नीलसरस्वती स्थान, टुकुचा क्षेत्र, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक क्षेत्र, बालुवाटार र चाइनिज एम्बेसी आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस्तै, शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गत ओम अस्पतालको विपरीत क्षेत्रदेखि धोबीखोला करिडोर, भत्केको पुल, हाँडीगाउँ, कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल, गहनापोखरी, छातागणेश, प्रहरी प्रधान कार्यालय, ज्ञानेश्वर र चारखालस्थित इच्छुवान रेस्टुरेन्ट आसपासका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जानेछ।
आइतबार कालिकास्थान फिडरअन्तर्गत कालिकास्थानको वरको बोट, डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो र रातोपुलदेखि सेतोपुलसम्मका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
प्राधिकरणले निर्धारित काम समयअघि नै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु गरिने जनाएको छ। विद्युत् कटौतीबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि हटलाइन नम्बर ११५० वा प्राधिकरणको वेबसाइटमा सम्पर्क गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया