दशैँ–तिहारपछि उपत्यकाबाहिर पनि साझा यातायात, ५० वटा सुविधासम्पन्न बस ल्याउने तयारी


काठमाडौँ । साझा यातायातले उपत्यकाबाहिर सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ। ग्रामीण समुदायलाई लक्षित गर्दै ५० वटा सुविधासम्पन्न बस ल्याउने प्रक्रिया अघि बढाएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले बताएका छन्।

रिपोर्टर्स नेपालका संवाददाता कुलमान तामाङसँग दशैँ, तिहार तथा छठपर्व विशेष र आगामी कार्ययोजनाबारे कुराकानी गर्दै अर्यालले काठमाडौँबाट विभिन्न सम्भाव्य सहरसम्म सेवा विस्तार गर्ने उद्देश्यसहित बस खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार साझा यातायातसँग अहिले ७१ वटा डिजेल बस, ४० वटा विद्युतीय बस र पाँचवटा विद्युतीय माइक्रोबस गरी ११६ वटा सवारीसाधन सञ्चालनमा छन्। आगामी दिनमा उपत्यकाबाहिरका यात्रुलाई लक्षित गरी थप ५० वटा सुपर लक्जरी बस ल्याउने तयारी भइरहेको उनले बताए ।

“हामीले उपत्यका बाहिरका यात्रुलाई फोकस गरेर काठमाडौदेखि विभिन्न सम्भाव्यता शहरमा पुर्याउनेगरी ग्रामीण जनतलाई सेवा प्रवाह गर्ने उदेश्य छ । त्यसको लागि ५० वटा सुपर लक्जरियस बस ल्याउने प्रक्रियामा अगाडि बढेका छौँ,” उनले भने ।

अर्यालका अनुसार बस ल्याउने प्रक्रिया पूरा हुन करिब आठदेखि नौ महिना लाग्नेछ। “प्रक्रिया थालनी भएको छ, यसलाई थोरै समय पर्खिन पर्छ । ८/९ महिना लाग्छ होला,” उनले भने ।

हाल काठमाडौँदेखि बाग्लुङसम्म साझा यातायातले चारवटा रात्रिकालीन बस सञ्चालन गरिरहेको छ। अब चाँडै दिवाकालीन सेवा पनि सुरु गर्ने तयारी गरिएको उनले बताए।

चाडपर्वमा पनि उपत्यकामा रात्रिकालीन बस सेवा निरन्तर

दशैँ, तिहार तथा छठपर्वका समयमा यात्रुको चाप र आवागमनमा हुने परिवर्तनलाई ध्यानमा राख्दै साझा यातायातले रात्रिकालीन बस सेवा निरन्तर सञ्चालन गर्ने भएको छ।

संविधान दिवसका दिन असोज ३ गतेदेखि साझा यातायातले प्रत्येक दिन उपत्यकामा राति ८ बजेदेखि ११ बजेसम्म ६ वटा रुटमा २८ वटा विद्युतीय बसमार्फत सेवा दिँदै आएको छ।

चाडपर्वमा धेरै यात्रु काठमाडौँबाट बाहिरिने भएकाले उपत्यकाभित्र यात्रुको चाप केही घट्न सक्ने अर्यालको भनाइ छ। यद्यपि, उपत्यकामै रहने यात्रुलाई पनि सेवा उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सञ्चालनलाई निरन्तरता दिइने उनले बताए।

“काठमाडौंबाट धेरै यात्रुहरू बाहिर जाने भएकोले पातलो हुनसक्छ । तर, सेवा चाहिँ निरन्तर नै हुन्छ । किनभने यहाँ पुरै खाली हुने त होइन । यहाँ हुनेले पनि सुविधा त पाउनुपर्यो,” उनले भने, “यात्रुको चाप हेरेर बसको संख्या घटाउने वा बढाउने गर्छौँ।”

तीन स्थानीय तहमा साझा यातायात सञ्चालनको तयारी

साझा यातायातले उपत्यकाबाहिर सेवा विस्तारका लागि तीन स्थानीय तहसँग समन्वय गरिरहेको छ। वीरगन्ज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकासँग सहकार्य तथा साझेदारीमा यातायात सेवा सञ्चालन गर्ने समझदारी भइसकेको अर्यालले जानकारी दिए।

उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। दशैँअघि सेवा सञ्चालनको सम्भावना नरहे पनि दशैँ र तिहारको बीचमा प्रक्रिया अघि बढाइने उनले बताए।

चीनबाट आउने भनिएका १०० बसको प्रक्रिया अघि बढाउने तयारी

चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनिएका १०० वटा बसको प्रक्रिया पनि अघि बढाउने तयारी भइरहेको अर्यालले बताएका छन्।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार चीन सरकारले नेपाल सरकारलाई १०० वटा बस अनुदानमा उपलब्ध गराउने र सरकारले ती बस साझा यातायातलाई हस्तान्तरण गर्ने समझदारी भएको थियो। यसका लागि आवश्यक प्रक्रिया अघि बढे पनि जेनजी आन्दोलनका कारण प्रभावित भएको उनले बताए।

“हामीले १०० वटा बसको लागि स्पेसिफिकेसन सबै तयार गरेर पठाइसकेका थियौं । २०८२/०८३ को बजेट वक्तव्यको २६६ मा पनि उल्लेख थियो । जेनजी आन्दोलनका कारण रोकियो।”

अर्यालका अनुसार मीनभवननजिकै रहेको यातायात व्यवस्था विभागभित्र १०० वटा बस पार्किङ गर्ने स्थल र चार्जिङ स्टेसन निर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत निर्णय भइसकेको थियो। तर, जेनजी आन्दोलनपछि उक्त योजना ओझेलमा परेको उनको भनाइ छ।

यस विषयमा वर्तमान सरकारसँग अनौपचारिक छलफल सुरु भइसकेको उनले बताए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने विषय भएकाले मन्त्री प्रतिभा रावलसँग पनि छलफल भएको उनले जानकारी दिए। मन्त्रीबाट प्रक्रिया अघि बढाउने आश्वासन पाएको बताउँदै उनले दशैँपछि सरकारसँग औपचारिक रूपमा छलफल अघि बढाउने बताए।

१०० वटा बस नेपालमा आएपछि यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास छ।

बसभित्र यात्रुको सुरक्षाका लागि चारवटा क्यामेरा

साझा यातायातले यात्रुको सुरक्षा र निगरानीका लागि सञ्चालनमा रहेका सबै बसमा क्यामेरा जडान गरेको छ। प्रत्येक बसभित्र चारवटा क्यामेरा राखिएको र त्यसको निगरानीका लागि नियन्त्रण कक्षसमेत स्थापना गरिएको अर्यालले बताए।

“अहिले जति पनि साझाले सन्चालन गरेका बसहरु छन् । ती सबैमा ४ वटा क्यामेरा जडान गरिएको छ,” उनले भने, “हामीले कन्ट्रोल रुमको स्थापना गरेका छौँ । यहीँबाट यात्रुहरुमाथी भएको दुर्व्यवहार, महिलाहरुमाथि हुने हिंसा र यात्रुको सामान हराएमा नियन्त्रण गर्न सक्ने व्यवस्था छ।”

उनका अनुसार नियन्त्रण कक्षबाट बसभित्रका गतिविधि निगरानी गर्न सकिन्छ। यात्रुको सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), जीपीएसलगायत आधुनिक प्रविधि प्रयोग गर्ने तयारी पनि भइरहेको उनले बताए।

रुट विस्तारसँगै आधुनिक प्रविधिमा जोड

साझा यातायातले रुट विस्तार तथा सेवा सुधारका लागि थप ५० वटा बस खरिद गर्ने तयारी गरेको छ। उपत्यकाबाहिर बस सञ्चालन गर्न आवश्यक चार्जिङ स्टेसन र पार्किङस्थलको सम्भाव्यता अध्ययन भइरहेको अर्यालले जानकारी दिए।

“उपत्यकाबाहिरको जनतालाई सेवा दिन आधुनिक प्रविधिको प्रयोग रहेको ५० वटा बस ल्याउने तयारी गरेका छौँ । कहाँ चार्जिङ स्टेसन बनाउने र कहाँ-कहाँ बस सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेका छौँ,” उनले भने।

बस कहाँ आइपुगेको छ भन्ने जानकारी यात्रुले सहजै पाउन सक्ने प्रविधिको व्यवस्था गर्ने योजना पनि रहेको उनले बताए। हाल सञ्चालनमा रहेका साझा यातायातका बसको अवस्थाबारे साझा एप (Sajha App) मार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।

सार्वजनिक यातायातलाई समयसापेक्ष, प्रविधिमैत्री र यात्रुमुखी बनाउने उद्देश्यसहित सेवा विस्तार तथा प्रविधि सुधारका काम अघि बढाइएको उनले बताएका छन् ।