काठमाडौँ । राजनीतिक विश्लेषक हेमन्त सेढाईंले दुई तिहाइ बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई अहिले नै ढाल्न खोज्ने शक्तिहरू पराजित हुने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्लेषक सेढाईंले दशैँ, तिहार तथा छठ पर्वको शुभकामना दिँदै पत्रकार र विश्लेषकहरूको योगदानकै कारण रास्वपा सरकार बनेको र अब नागरिक स्तरबाट सशक्त खबरदारीको आवश्यकता रहेको औँल्याए।
पुराना दलहरूले तिहारपछि आन्दोलनको आँधीबेहरी ल्याउने दाबी गरिरहेको तर्फ संकेत गर्दै सेढाईंले अहिले नै सरकार ढाल्ने प्रयास सफल नहुने स्पष्ट पारे। ‘दुई तिहाइ बहुमतको रास्वपा सरकारलाई अहिले नै ढाल्न खोज्नेहरू अन्ततः पराजित हुनेछन्,’ उनले भने।
तर सरकारको गति सही ढंगले अघि बढ्न नसकेको उनले टिप्पणी गरे ।
कार्यक्रममा विश्लेषक सेढाईंले पुराना राजनीतिक दलहरूको आन्तरिक कार्यशैलीको तीव्र आलोचना गरे। नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनलाई लक्षित गर्दै उनले गुरु घिमिरे र डा. सुनिल शर्मा जस्ता धेरै इमानदार नेताहरूलाई षड्यन्त्रपूर्वक हराइएको दाबी गरे।
त्यसैगरी, नेकपा एमालेले पनि आफूलाई रुपान्तरण र पुस्तान्तरण गर्न नसकेको टिप्पणी गर्दै एमालेको राजनीतिक शैली उत्तर कोरियाको जस्तै बनेको आरोप लगाए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः पार्टी राजनीतिमा पुनरागमनबारे असन्तुष्टि जनाउँदै उनले भने, ‘राष्ट्रपति भइसकेको व्यक्ति सबैको साझा अभिभावक भएर बस्नुपर्ने थियो। हिजो एमालेले सदस्यता त्याग गरिसकेको व्यक्तिलाई चिन्दैनौँ भनेको थियो, तर अन्ततः उनैलाई वरिष्ठ नेतामा शपथ खुवाइयो।’
पुराना दलका यस्ता कमजोरीका कारण जनताले विकल्पका रूपमा नयाँ शक्ति रोजेको भए पनि रास्वपा र सरकारको कार्यशैली सन्तोषजनक हुन नसकेको सेढाईंको भनाइ थियो। रास्वपाका कतिपय सांसदहरूले पदीय मर्यादा कायम राख्न नसकेको उनले टिप्पणी गरे।
सरकारको नियुक्ति प्रक्रिया र राइट म्यान इन द राइट प्लेसको नारा कार्यान्वयनमा प्रश्न उठाउँदै उनले राजदूत नियुक्तिमा भएको असफलताको उदाहरण दिए। चार महिना लगाएर सिफारिस गरिएका राजदूतहरूमध्ये दुई जना अस्वीकृत हुनु र एक जना अझै पेन्डिङमा रहनुले सरकारको अपरिपक्वता झल्काएको उनले बताए।
यसैगरी, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच हुनुपर्ने जति संवाद हुन नसकेकोमा पनि उनले चिन्ता व्यक्त गरे। रास्वपाका महत्त्वपूर्ण पार्टी बैठकहरूमा समेत वरिष्ठ नेताका रूपमा बालेनको उपस्थिति नदेखिएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री बालेन शाहको यस्तै रवैया कायम रहेमा उनले रास्वपालाई आफ्नो सत्ता स्वार्थका लागि प्रयोग मात्र गरेका रहेछन् भन्ने सन्देश जानेछ।




प्रतिक्रिया