काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वंशजको आधारमा पाएको नागरिकता कसैले पनि खोस्न नपाउने बताएका छन्। गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विवाद र डा. मित्र काफ्लेलगायतको अभियानलाई समर्थन जनाउँदै उनले नागरिकता ऐनमा भएका त्रुटि सच्याएर एकपटकको नेपाली, सधैँको नेपाली हुने कानुनी व्यवस्था गर्न माग गरेका हुन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले पुराना दलहरूले नागरिकता ऐन ल्याउँदा गल्ती गरेको दाबी गरे। ‘वंशजको नागरिकता लिएको व्यक्ति सधैँका लागि नेपाली हुन्छ। वंशजको नागरिकता खोस्न वा चलाउन पाइँदैन,’ उनले भने, ‘कानुन बदलेर भए पनि एकपटकको नेपाली सधैँको नेपाली हुने ग्यारेन्टी राज्यले गर्नुपर्छ।’
नागरिकताको विषयबाहेक राष्ट्रिय राजनीतिबारे बोल्दै धमलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको चार घण्टा लामो वार्तालाई सकारात्मक कदमका रूपमा व्याख्या गरे।
रवि र बालेनको सहकार्यले मुलुकलाई राजनीतिक निकास दिने दाबी गर्दै उनले भने, ‘सुशासनको प्रत्याभूति गराउन रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पूर्ण रुपमा सहयोग गर्नुपर्छ । पाँच वर्षपछि रवि आफैँ प्रधानमन्त्री बने हुन्छ, अहिले बालेनलाई सफल बनाउन भूमिका खेल्नुपर्छ।’
सुरक्षा निकायको संवेदनशीलतामाथि जोड दिँदै धमलाले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हचुवाका भरमा हटाउन नहुने धारणा राखे। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन खोज्दा उत्पन्न भएको राजनीतिक सङ्कटको स्मरण गराउँदै धमलाले प्रहरी नेतृत्वमाथि हस्तक्षेप नगर्न सरकारलाई सचेत गराए।
‘दानबहादुर कार्कीमाथि छानबिन गर्न सकिन्छ, तर हचुवाको भरमा हटाउने कार्य गर्नु हुँदैन। नेपाल प्रहरीमाथि जनताको ठूलो आस्था र विश्वास छ,’ धमलाले भने।
अध्यक्ष धमलाले पुराना दलका नेताहरूलाई आन्दोलन नगरी सुध्रिन सुझाव दिए भने प्रधानमन्त्री बालेनले पनि सबै दलका प्रमुख नेतालाई डाकेर देशका समस्याबारे वार्ता गर्न सुझाव दिए।
यस्तै, स्थानीय तहमा गैरदलीय उम्मेदवार बनाउने कुलमान घिसिङको धारणालाई समर्थन गर्दै धमलाले आफूले पनि यही विषयमा लामो समयदेखि वकालत गर्दै आएको स्पष्ट पारे । आफू २४ सै घण्टा गरिब, मजदुर र भुइँमान्छेको अधिकारका लागि लडिरहने प्रतिबद्धता धमलाले व्यक्त गरे।
खाडी मुलुकमा रहेका नेपाली श्रमिकका समस्या अध्ययन गर्न आफू छिट्टै दुबई जाने जानकारीसमेत उनले दिए।




प्रतिक्रिया