स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोली काठमाडौंमा


काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा आन्द्रे पेजका नेतृत्वको टोली सोमबार कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेको हो । 

टोलीलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । 

नेपाल भ्रमणका क्रममा टोलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा भइरहेको यो भ्रमणलाई दुई देशबीचको संसदीय सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।