जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता


काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम राजदूत नियुक्तिको सिफारिसबाट फिर्ता लिएका छन् ।

थापाले संसदीय सुनुवाइ समितिलाई पत्र पठाउँदै राजदूतका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

समितिमा पठाएको पत्रमा उनले देश र जनताको सेवा गर्न कुनै पद नै अन्तिम माध्यम नभएको उल्लेख गरेका छन् । साथै, आगामी दिनमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम होइन । आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न म सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसअघि २०८३ असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो । त्यसक्रममा नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अनुमोदन गरेको थिएन ।

जापानका लागि प्रस्तावित थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको विषय उठेपछि उनको सुनुवाइ प्रक्रिया थप अध्ययनका लागि स्थगित गरिएको थियो ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । यद्यपि, संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै पीआर त्यागेको अवधिका विषयमा सांसदहरूले थप प्रश्न उठाएका थिए ।