बझाङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, पाँचसहित ६ जना घाइते


१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ स्थित काँडाचौर जाने क्रममा सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनामा सोही वडाका ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।

प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङतर्फ पठाएका छन् ।

घटनास्थलमा प्रहरी पुग्न करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए । उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।