ओली–गगन भेटले बढायो राजनीतिक तरंग, मधेसको सत्ता मात्रै कि बालेन सरकारविरुद्ध मोर्चाबन्दी ?


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ ओली निवास गुण्डुमा करिब एक घण्टा भेटवार्ता भएको छ ।

जेनजी विद्रोहपछि संवादविहीन रहेका दुई नेताबीच भएको भेटमा मुख्यतः मधेस प्रदेशको सत्ता समीकरण र समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल भएको बताइएको छ ।

कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पार्टीकै निर्णयअनुसार सभापति थापा ओलीलाई भेट्न पुगेका हुन् । एमालेले कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिनुपर्ने अवस्था छ । मुख्यमन्त्री यादवको आग्रहमा थापा ओलीसँग संवाद गर्न पुगेको बताइएको छ ।

भेटमा मधेस प्रदेशमा कांग्रेस–एमाले सहकार्य र नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल भएको स्रोतले जनाएको छ ।

स्राेतका अनुसार एमाले अध्यक्ष ओलीले गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनदेखि नै धेरैपटक संवादको प्रयास गरे पनि थापाले भेटेनन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका बेलामा पनि ओलीले सम्वाद गर्न चाहेकाे तर थापा तयार नभएकाे स्राेतकाे दाबी छ ।


बरु ओलीसँग भेट गर्न तत्कालीन उपसभापति र अहिले १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति बेनका विश्वप्रकाश शर्मालाई पठाएका थिए । तर, मंगलबार थापा आफै भेट्न जानुलाई चासाेका साथ हेरिएकाे छ ।

प्रधानमन्त्री बालेन शाहको चेतावनीपूर्ण फेसबुक स्टाटसपछि विकसित राजनीतिक घटनाक्रमका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमासमेत हेरिएको छ । प्रधानमन्त्री शाहले आइतबार फेसबुकमा लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

साेमबार बेलुका ६ बजे सभापति थापाले पनि “तर्साउने धेरै आए, तर्सिने बानी परेन” भन्दै चुनौतीपूर्ण स्टाटस लेखेका थिए ।

यहीबीच छठपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिने मधेसवादी दल, एमाले र नेकपाको तयारीबारे चर्चा भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता थापा स्वयं ओली निवास पुगेर छलफल गरेपछि राष्ट्रिय राजनीतिमा सम्भावित नयाँ समीकरणबारे चासो बढेको छ ।

थापा स्वयं ओली निवास पुग्नुको उद्देश्य मधेस प्रदेश सरकारको विषय मात्रै थियो वा सरकारविरुद्ध मोर्चाबन्दीको तयारी पनि , त्यो भने खुल्न बाँकी छ।