ओझेलमा परेका प्राचीन देवालयः पहिचान जोगाउन कस्सिए युवा


काठमाडौँ । नेपाल वैदिक, पौराणिक र धार्मिक दृष्टिले ‘देवभूमि’का रूपमा स्थापित भूमि हो। तर, आधुनिकताको लहर र राज्यको बेवास्ताका कारण यहाँका प्राचीन तीर्थस्थल, देवालय तथा मठमन्दिरहरू भने दिनानुदिन ओझेलमा पर्दै गएका छन्। यही पृष्ठभूमिमा आयोजित एक पत्रकार सम्मेलनमा धर्मप्रचार अभियन्ताहरूले नेपालका तीर्थक्षेत्रको पुनरुत्थान, धार्मिक पर्यटनको सम्भावना र युवा पुस्ताको दायित्वबारे गम्भीर विश्लेषण प्रस्तुत गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै अभियन्ताद्वय अर्चना झा र मालती पराजुलीले गुरु दीपकिशोर भट्टराईले अघि सारेको तीर्थ संरक्षण गुरुयोजनाको समर्थन गर्दै धार्मिक सम्पदालाई मुलुकको अर्थतन्त्र र सांस्कृतिक पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

‘तीर्थक्षेत्र बाबाजीका लागि मात्र होइन’: धार्मिक पर्यटनबाट राष्ट्रिय ढुकुटी बलियो बनाउने अवसर

पत्रकार तथा धर्मप्रचार अभियन्ता अर्चना झाले विभिन्न धर्मग्रन्थ तथा पौराणिक आधारहरू प्रस्तुत गर्दै नेपालको अद्वितीय आध्यात्मिक महत्वलाई उजागर गरिन्। उनका अनुसार नेपाल भौगोलिक भू-भाग मात्र नभई साक्षात देवभूमि हो, जसको महिमा विश्वसामु पुर्याउनु प्रत्येक नागरिकको दायित्व हो।

नेपालमा तीर्थस्थल भन्नेबित्तिकै “टीकाधारी, साधु र बाबाजीहरू मात्र जाने ठाउँ” भन्ने सङ्कुचित सोचलाई चिर्नुपर्ने झाको तर्क छ। तीर्थस्थलहरू समाजका हरेक वर्ग र सर्वसाधारण भक्तजनका लागि उत्तिकै खुला र पवित्र हुन्छन्।

राज्यले गर्नुपर्ने दायित्व र संरक्षणका कामहरू निजी तथा धार्मिक क्षेत्रबाट गुरु दीपकिशोर भट्टराई जस्ता व्यक्तित्वहरूले अघि बढाइरहेको प्रसङ्ग उल्लेख गर्दै झाले भनिन्- “सरकारले गर्नुपर्ने काम व्यक्ति र अभियानले गरिरहेका छन्। त्यसैले यो सङ्कल्प पूरा गराउन सबैको प्रचार र सहयोग अपरिहार्य छ।”

यदि हाम्रा धार्मिक स्थलहरूको उचित संरक्षण र व्यवस्थापन गर्न सकियो भने धार्मिक पर्यटनको क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिन्छ। विश्वभरका सनातन धर्मावलम्बी र पर्यटकहरूलाई नेपाल भित्र्याएर मुलुकको आर्थिक ढुकुटीसमेत बलियो बनाउन सकिने विश्लेषणात्मक दृष्टिकोण झाले प्रस्तुत गरिन्।

अर्की धर्मप्रचार अभियन्ता मालती पराजुलीले वर्तमान युवा पुस्ता (जेन–जी) को जीवनशैली र उनीहरूको सामाजिक सञ्जालप्रतिको अति-निर्भरतामाथि टिप्पणी गर्दै चिन्ता व्यक्त गरिन्।

आजको युवा पुस्ता सामाजिक सञ्जालका निरर्थक सामग्री र भर्चुअल दुनियाँमा अलमलिएर आफ्नो वास्तविक जग, इतिहास र संस्कृतिबाट टाढिँदै गएको छ। युवाहरूले समय र ऊर्जा निरर्थक काममा खेर फाल्नुको साटो आफ्ना पितापुर्खाले छोडेका ऐतिहासिक तीर्थक्षेत्रहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लगाउनुपर्ने टड्कारो आवश्यकता छ।

यस अभियानलाई कुनै एक व्यक्ति वा गुरुको निजी प्रयासका रूपमा मात्र हेर्न नहुने पराजुलीको भनाइ थियो। उनले स्पष्ट पारिन्, “यो दीपकिशोर गुरुजीको मात्र नभई प्रत्येक राष्ट्रप्रेमी र धर्मप्रेमी नेपालीको साझा अभियान हो। हाम्रा देवालयहरू हाम्रा पहिचान हुन् र तिनको रक्षा गर्नु हामी सबैको राष्ट्रिय दायित्व हो।”

नेपालका तीर्थस्थलहरू पूजापाठ गर्ने ठाउँ मात्र नभई नेपालको अर्थतन्त्र, पर्यटन र मौलिक पहिचानका प्रमुख खम्बा हुन्। अर्चना झा र मालती पराजुलीले उठाएका विषयहरूले राज्यका निकायहरूलाई घच्घच्याउने मात्र नभई ‘जेन-जी’ युवा पुस्तालाई सामाजिक सञ्जालको भर्चुअल संसारबाट बाहिर निकालेर आफ्नै माटोको संस्कृति र सम्पदा जोगाउन प्रेरित गर्ने देखिन्छ। दीपकिशोर गुरुजीको नेतृत्वमा सुरु भएको यो अभियानले धार्मिक पर्यटन प्रवर्द्धन र आध्यात्मिक जागरणमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।