काठमाडौँ । नेपाल सांस्कृतिक, धार्मिक र पौराणिक इतिहासले भरिपूर्ण ‘गुरुदेश’ हो। तर, यहाँका कैयौँ ऐतिहासिक तथा धार्मिक तीर्थस्थलहरू भने सरकारको बेवास्ता र संरक्षणको अभावमा दिनानुदिन दयनीय अवस्थामा पुगिरहेका छन्। पूर्वको गढीमाईदेखि पश्चिमको बडीमालिकासम्म पुग्दा हाम्रा देवालय तथा मठमन्दिरहरूको अवस्था दयनीय रहेको, कतिपय ठाउँमा व्यवस्थापन समितिसम्म नरहेको र झाडीले ढाकेको यथार्थ उजागर भएको छ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा गुरु दीपकिशोर भट्टराई (खगेन्द्र श्रीनिवास रामानुज दास) ले नेपालका तीर्थक्षेत्रहरूका मठमन्दिरहरूको संरक्षण गर्ने गुरुयोजना सार्वजनिक गर्दै राज्यको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्।
बौद्ध स्तूपको तुलनामा हिन्दू र किराँत सम्पदा ओझेलमा
भट्टराईका अनुसार नेपालमा बौद्ध स्तूपहरूको संरक्षण तुलनात्मक रूपमा राम्रो देखिए तापनि हिन्दू र किराँत धर्मावलम्बीहरूका पौराणिक मठमन्दिरहरू भने ओझेलमा पारिएका छन्। पौराणिक इतिहास बोकेका कैयौँ मन्दिरहरूमा नियमित पूजाआजा गर्ने पुजारीसमेत छैनन्। विडम्बना त के छ भने वास्तविक ऐतिहासिक मन्दिरहरू अलपत्र छोडेर तिनै मन्दिरका नाममा अन्यत्र व्यापारिक प्रतिष्ठान खडा गरी अवलोकनकर्ताको घुइँचो लगाउने काम भइरहेको छ।
भारतको कामाख्याभन्दा ठूलो महिमा बोकेको नेपालको गुह्येश्वरी र पशुपति क्षेत्रमा समेत अहिलेसम्म उचित परिक्रमा मार्ग निर्माण हुन सकेको छैन। हाम्रा शक्तिकेन्द्रहरूलाई व्यापारिक मोडलमा भन्दा पनि तिनको पौराणिक र आध्यात्मिक महत्वका आधारमा संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ।
युवा नेतृत्व र पुराण कथाबाट संरक्षणको सङ्कल्प
राज्यले धार्मिक सम्पदा संरक्षणमा ठोस कदम नचालेको अवस्थामा अब युवा पुस्ता नै अघि सर्नुपर्ने निष्कर्षका साथ ‘तीर्थ प्रचार महाअभियान’ सञ्चालन गरिएको छ। पौराणिक इतिहास र महिमालाई भावी सन्तानसम्म पुर्याउन पुराण कथाका माध्यमबाट सङ्कलित रकम प्रयोग गरी तीर्थक्षेत्र र मठमन्दिरहरूको वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गरिने योजना अघि सारिएको छ। डकुमेन्ट्रीका माध्यमबाट नेपालका ओझेलमा परेका देवालयहरूको वास्तविक इतिहास जनसमक्ष ल्याउने लक्ष्य राखिएको छ।
गोकर्णेश्वरमा ‘श्रीविष्णु–पुराण सत्सङ्ग एवं सपादलक्ष–हवनात्मक महायज्ञ २०८३’ हुने
नेपालका पवित्र तीर्थस्थल, मठ-मन्दिर तथा धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रचार-प्रसार गर्ने उद्देश्यका साथ तीर्थ प्रचार महाअभियानले काठमाडौँको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गण (हनुमान चोक) मा बृहत् धार्मिक अनुष्ठान आयोजना गर्ने भएको छ।
गत श्रावण ९ गतेदेखि निरन्तर सञ्चालन भइरहेको चतुर्मास सत्सङ्ग तथा श्री स्कन्द महापुराण वाचनको समापनका अवसरमा आगामी कात्तिक २८ गतेदेखि मङ्सीर ८ गतेसम्म ‘श्रीविष्णु–पुराण सत्सङ्ग एवं सपादलक्ष–हवनात्मक महायज्ञ–२०८३’ सञ्चालन हुनेछ।
महायज्ञका मुख्य आकर्षण र कार्यक्रम रूपरेखा
लोककल्याण, आध्यात्मिक जागरण र विश्वशान्तिको कामनासहित आयोजना हुन लागेको यस महायज्ञमा लब्धप्रतिष्ठित गुरुहरूबाट वाचन तथा आशीर्वचन रहनेछ:
- कथा वाचन तथा पाठपारायण:
- रामानुजाचार्य स्वामीजीबाट श्रीविष्णु पुराण वाचन।
- सङ्कल्पकर्ता दीपकिशोर गुरुजीबाट श्री स्कन्द महापुराण वाचन।
- गजल कृष्ण गुरुदेवबाट पाठपारायण।
- विशेष आशीर्वचन: वाचनप्रवीण दीनबन्धु पोखरेल, देवी सुमी मानव, डा. श्रीवासकृष्णदास ब्रह्मचारीजी महाराज र ईश्वर चेतनजी महाराजलगायतका पूज्य सन्तहरू।
दैनिक तथा समापन तालिका
– कात्तिक २८ गते (शुक्रवार): महायज्ञको भव्य शुभारम्भ।
– कात्तिक २८ देखि मङ्सीर २ गते: दैनिक बिहान श्रीविष्णु पुराण प्रवचन।
– कात्तिक २८ देखि मङ्सीर ७ गते: नित्य आराधना, हवन, ग्रन्थ पाठ-पारायण, स्कन्द महापुराण प्रवचन, महालक्ष्मी आराधना, तिल-पुष्पार्चना र सपादलक्ष दीप प्रज्ज्वलन।
– मङ्सीर ८ गते (समापन समारोह): महापूर्णाहुति, महाअभिषेक, तिलक तथा प्रसाद वितरण। सोही दिन चार महिनादेखि सिद्ध गरिएको जल र १०८ तीर्थको जलयुक्त कलश भक्तजनहरूलाई वितरण गरिनेछ।
“तीर्थको महिमा जनजनमा, सनातन संस्कृतिको संरक्षण घरघरमा” भन्ने मूल सङ्कल्पका साथ सुरु भएको यो महाअभियानले धार्मिक अनुष्ठान मात्र नगरी अलपत्र परेका ऐतिहासिक देवालयहरूको पुनरुत्थानको मुद्दा उठाएको छ। धर्मप्रकाश टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुने यस अनुष्ठानले नेपालका ओझेलमा परेका तीर्थस्थलहरूको प्रचार-प्रसार र संरक्षणमा नयाँ ईटा थप्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया