काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आगामी मङ्सिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिस्री नेपाल आएका हुन् ।
मिस्रीले आज परराष्ट्रमन्त्री खनालसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल गर्नेछन् । सचिव राईसँगको भेटपछि अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, उनले आजै भौतिक पूर्वाधारमन्त्रीसँग पनि भेट गर्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अन्य भेटघाट शिष्टाचारमा सीमित रहनेछन् भने मुख्य छलफल परराष्ट्र सचिव राईसँग हुनेछ । उक्त छलफलमा प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा उठाइने विषय तथा छलफलका एजेन्डाबारे कुराकानी हुने बताइएको छ ।
यसैबीच, भारतीय विदेश सचिव मिस्रीले भोलि प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । दुईदिने भ्रमण सकेर भोलि दिउँसो भारत फर्किनुअघि उनले प्रधानमन्त्रीसँग भेट गर्नेछन् ।




प्रतिक्रिया