काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला छठ पर्वको अवसर पारेर आजदेखि मधेस प्रदेश यात्रामा निस्कने भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा पुगेर आम नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने उद्देश्यसहित आफू यात्रामा निस्कन लागेको धमलाले जानकारी दिएका छन् ।
दशैँ र तिहार खुसी, उमङ्ग तथा आपसी सद्भावका साथ सम्पन्न भएपछि छठ पर्वको अवसरमा मधेस यात्राको योजना बनाएको उनले बताए ।
यात्राका क्रममा मधेस प्रदेशका प्रत्येक जिल्लामा पुगेर त्यहाँका नागरिकका दुःख, पीडा, समस्या, अपेक्षा र सम्भावनालाई नजिकबाट बुझ्ने आफ्नो लक्ष्य रहेको धमलाको भनाइ छ।
उनले मधेसलाई केवल एउटा भौगोलिक क्षेत्रका रूपमा मात्र नभई नेपालको महत्वपूर्ण पहिचान, संस्कृति, सम्भावना र शक्तिको आधारका रूपमा व्याख्या गरेका छन्।
मधेसका नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार, सीमा क्षेत्र तथा सुशासनसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै ती विषयलाई गम्भीरतापूर्वक बुझ्नु आवश्यक रहेको उनले बताएका छन्।
छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको सम्मान, आस्था र पारिवारिक सद्भावको अनुपम पर्व भएकाले यही सांस्कृतिक महत्व र मधेसको आत्मीयतासँग जोडिएर आफू यात्रामा निस्कन लागेको धमलाको भनाइ छ ।




प्रतिक्रिया