काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्।
रुसको सत्तारुढ दल युनाइटेड रसियाले ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ भन्ने नारासहित आयोजना गरेको सम्मेलनमा विश्वका ७६ देशका ४८० जना राजनीतिक नेता तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
सम्मेलनमा संयोजक प्रचण्डले दुई पटक सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार हुनुपर्ने धारणा राखेका थिए।
उनले कुनै पनि देशको राजनीतिक स्वतन्त्रता आर्थिक स्वायत्तताबिना पूर्ण हुन नसक्ने उल्लेख गर्दै आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता निर्धारण गर्न पाउने अधिकार राष्ट्रहरूको हुनुपर्ने बताएका थिए।
विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै प्रचण्डले सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण हुनुपर्नेमा जोड दिएका थिए।
‘बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ,’ उनले सम्मेलनमा भनेका थिए।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्र निर्णय प्रक्रियाको पक्षमा आफ्नो विचार राखेका थिए।




प्रतिक्रिया