दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्री गुरुङको निर्देशन


अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई नै ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई ठगी गरी देशको प्रतिष्ठामा आँच पुर्‍याउने जोकोहीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्।

कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने क्रम बढिरहेको भन्दै गुनासो गरेका थिए। ठगीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न नसकिएको उनीहरूको भनाइ थियो।

त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी गतिविधिमा संलग्न नेपालीमाथि कारबाही अघि बढाउने विषयमा नैतिक समस्या हुने गरेको बताएका थिए। राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन प्राप्त भए त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो।

महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर देशकै प्रतिष्ठामा असर पुर्‍याउने व्यक्तिमाथि कारबाही गर्न किन हिचकिचाउने भन्दै प्रश्न गरेका थिए।

उनले नेपाली नागरिकलाई ठगी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशनसमेत दिए।

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग पनि छलफल गरेका थिए।

औपचारिक भ्रमण सम्पन्न गरी गृहमन्त्री गुरुङ स्वदेश फर्किसकेका छन्।