सुकुम्बासीलाई १५ हजार दिएर सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन : ऋषि धमला


काठमाडौं। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले सुकुम्बासी तथा विस्थापित नागरिकलाई १५ हजार रुपैयाँ दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्। उनले प्रभावित नागरिकको उचित व्यवस्थापन, क्षतिपूर्ति र आवासको व्यवस्था गर्ने दायित्व राज्यकै भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै धमलाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई १५ हजार रुपैयाँ दिएर मात्रै समस्या समाधान नहुने बताए।

उनका अनुसार सुकुम्बासी तथा विस्थापित नागरिकको समस्या सम्बोधन गर्नु सरकारको दायित्व हो। उनीहरूको बासस्थान, जीविकोपार्जन र भविष्यको सुनिश्चितता नगरी आर्थिक सहायता दिएर मात्रै राज्य आफ्नो जिम्मेवारीबाट मुक्त हुन नसक्ने उनको भनाइ छ।

धमलाले विस्थापित तथा प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति दिनुपर्ने र उनीहरूको पुनःस्थापनाका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिए।

उनले सुकुम्बासीका समस्या मानवीय संवेदनासँग जोडिएको विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। प्रभावित नागरिकलाई उचित विकल्प र व्यवस्थापनबिना विस्थापित गर्नु न्यायोचित नहुने उनको धारणा छ।