दलबीच समन्वयको खाँचो : महासचिव पोखरेल 


काठमाडौँ, ११ असोज : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियताको सुरक्षा र जनताको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पार्टीले काठमाडौँका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं ५ का कार्यकर्ताको भेलामा महासचिव पोखरेलले वैदेशिक हस्तक्षेपले राष्ट्रिय अखण्डतामा आँच आउन थालेको अहिलेको अवस्थामा दलबीच समन्वयको खाँचो औँल्याउनुभयो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान पार्टीका विभिन्न जनवर्गीय संगठनले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले मुलुकमा अब राजनीतिक स्थायित्व कायम गरी जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ का संयोजक रत्न गुरुङ र प्रदेशसभाका उपसंयोजक मनिराज डंगोलले पार्टीलाई स्थानीय तहको चुनावमा चौतर्फी घेराबन्दी गरिएको भए पनि जनताले सही मूल्यांकन गरी अग्रस्थानमा पु¥याएको विचार व्यक्त गर्दै आगामी चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)