“मलाई पदको विषयमा कुनै चिन्ता र चासो छैन”
वैशाख २०, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सुन तस्करमा संलग्न जोकोही भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले सुन तस्करमा संलग्नलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया सुरु गरिएकोप्रति खुशी व्यक्त गरे ।
“गलत काम गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा देशभरी जनमत बन्नुपर्छ । गृहमन्त्रीले पनि कारबाही गर्छु भन्नुभएको छ । त्यसलाई समर्थन गर्नुपर्छ ।” रावलले भने ।
“भ्रष्टाचार र तस्करी गर्ने नेता हुन् वा कर्मचारी, तिनलाई तथ्यका आधारमा कारबाही गर्नुपर्छ । त्यतिकै शिकार बनाउनु हुँदैन ।”
अनुसन्धानका क्रममा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने उनको तर्क छ ।
फरक प्रसंगमा नेता रावलले एमाले र माओवादीबिचको पार्टी एकता वैशाख महिनामा हुने सम्भावना कम रहेको बताएका छन् ।
यद्यपी माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच सहमति हुनासाथ एकता घोषणा हुने भएकाले मिति तोक्न नसकिने उनले बताए ।
पार्टी एकताका लागि आफू पदको पछि नलाग्ने भन्दै रावलले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने बताए । “मलाई पदको विषयमा कुनै चिन्ता र चासो छैन ।” उनले भने ।




प्रतिक्रिया