ओली सरकार जलगैंडाजस्तो, बोल्छमात्रै काम केही गर्दैन् : महर


काठमाडौं, २० बैशाख ।  नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय माँगिरहेका छौं तर उहाँले भेटको लागि समय दिनुभएको छैन् ।’

क्लवका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा निजी विद्यायल सञ्चालकहरुका पनि केही समस्या भएपनि उनीहरुले आफ्ना समस्या छन् भन्दैमा गरिबहरुको जीवनमाथि बज्रप्रहार गर्न नहुने उनको भनाई छ ।

उनले भने,‘निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुका अभिभावक धनि छैनन्, दिनभरि काम गरेर बालबच्चा निजीमा पढाईरहेका छन्, यस्तो स्थितिमा निजी विद्यालयले अनावश्यक मल्य बढाएर हुन्छ, हामीले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिसकेका छौँ, आगामी दिनमा जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने सरकारी कर्मचारीलाई असहयोग गर्नेजस्ता कार्यक्रम हुन्छन् ।’

सभापति महरले प्रत्येक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई २० प्रतिशत छुट्याउनुपर्ने पनि माँग गरे । उनले थपे,‘सरकारी विद्यालयको स्तरोन्नती गर्नतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्छ ।’