मोदीको भ्रमणले सदियौँदेखिको रोटीबेटीको सम्बन्ध अझ मजबुत हुन्छ : कर्ण


महन्थ ठाकुरलाई दलको नेता बनाउने भन्नेमा औपचारिक सहमति भएको छैन

वैशाख २४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयार अन्तिम चरणमा पुगेको बताएका छन् । मोदीको भ्रमणको तयारी भइरहँदा जनकपुर क्षेत्रको माहौल उत्साहजनक बन्दै गएको उनले बताए ।

अहिले जनकपुरमै रहेका कर्णले अतिथीको सत्कारका सम्बन्धमा मिथिला क्षेत्र धनी रहेको भन्दै मोदीको स्वागतका लागि सबै तयारी भइरहेको बताए ।

मोदीको नेपाल भ्रमणले सदियौँदेखिको रोटीबेटीको सम्बन्ध अझ मजबुत हुने उनले बताए ।

राष्ट्रिय जनता पार्टीले चुनाव सकिएको पाँच महिना भइसक्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

राजपा नेताहरुले दलको नेता चयन गर्न कुनै समस्या नरहेको बताउँदै आए पनि भित्र भित्रै विवाद भएका कारण नेता चयन हुन नसकेको बताइएको छ ।

एक पक्षले अध्यक्षमण्डलका संयोजनक महन्थ ठाकुर नै दलको नेता हुने दाबी गर्दै आएका छन् भने अर्को पक्षले सहमतिमा दलका नेता चयन गरिने बताउने गरेका छन् ।

राजपाका नेता लक्ष्मणलाल कर्णले सकेसम्म सर्वसम्मत नभए चुनाव गरेर दलको नेता चयन गरिने बताए ।

दलको नेता चयन गर्नका लागि विधान नभएकाले ढिलाई भएको भन्दै कर्णले विधान बन्ने क्रममा रहेको जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “अब एक हप्ताभित्रमा दलको नेता चयन गर्छौँ ।”

महन्थ ठाकुरलाई दलको नेता बनाउने भन्नेमा औपचारिक सहमति भने नभएको उनले बताए ।