जेठ १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले कम्युनिष्ट पार्टी एक हुँदैमा देश विकास नहुने बताएका छन् ।
उनले एमाले र माओवादीबीचको एकतालाई सत्ताको जोडघटाउ भनेर टिप्पणी गरे । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले देशलाई आर्थिक समृद्धिमा र्डोयाउने भनिरहेका बेला कांग्रेस नेता गुरुङले भने, ‘पार्टी एकीकरणले मात्र मुलुक बन्दैन । यो केवल सत्ताको जोड घटाउ हो ।’
नेपाल प्रेस युनियनले बिहीबार प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले नेताहरुको अलिशान जीवन शैलीले मुलुक परिवर्तन हुन नसक्ने बताएका छन् । उनले कम्युनिष्ट सरकारले कामभन्दा बढि कुरा मात्रै गरेको आरोप लगाउँदै सुगाको जस्तो रटानले सुशासन नआउने बताए । सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्नेमा गुरुङले जोड दिए ।
नेता गुरुङले भने, ‘कागले कराएको जस्तो, सुगाले रटान लगाएजस्तो गरेर सुशासन आउँदैन । प्रधानमन्त्री, मातहतमा सुशासन हुनु पर्छ ।’
नेपाली राजनीतिमा नैतिकता हराएको बताउँदै उनले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गरे । नेताहरु स्वार्थी बन्दा जनताले सुशासनको पनि अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।
मुलुक संघीय संरचनामा गए पनि नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलिरहेको भन्दै भन्दै उनले पार्टीको विधान संशोधनमा जोड दिए । सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताए ।




प्रतिक्रिया