समुदायमा कोरोना फैलिएको छैनः स्वास्थ्य मन्त्रालय


काठमाडौं, असार २४। राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेको दाबी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौंका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । गत २४ घण्टामा देशभर २०४ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । सोमबार उपत्यकामा ५४ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेकोे छ ।

प्रवक्ता गौतमले पछिल्लो समय ६८८ जना डिस्चार्ज भएको बत९ाउनुभयो । उहाँले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ४९९ पुगेको बताउनुभयो । हालसम्म देशभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ हजार ७२७ छ । मन्त्रालयका अनुसार आठ हजार ६३४ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा छ हजार १३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पार्न खोजेको आजको गोरखापत्र दैनिकमा खवर छ ।