जसपाभित्र विवाद छताछुल्ल, राजकिशोरद्वारा पार्टी कार्यक्रम बष्हिकार


काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टीभित्र विवाद चर्किएको छ । पार्टीभित्र पूर्व राजपा र पूर्व समाजवादी पार्टी खेमाबीच द्वन्द्व बढेको हो ।

जसपाको केन्द्रमा संसद पुनःस्थापना कि चुनाव भन्ने विषयमा विवाद चलिरहेको छ । त्यसको असर स्थानीय तहसम्म परेको छ । अर्कोतर्फ पूर्व राजपा र पूर्व समाजवादी पार्टीका नेताहरुबीच फाटो आएको छ ।

आज सिराहामा आयोजना भएको पार्टी कार्यक्रम जसपा नेता राजकिशोर यादवले बहिष्कार गरे । राजपा हुँदा उनी अध्यक्ष मण्डलमा थिए । अहिले पार्टीको जिल्लास्थित कार्यक्रममा चौंथो स्थानमा राखेपछि यादव आक्रोशित भएका छन् ।

सिराहाको कार्यक्रममा खटाउँदा उनलाई कार्यक्रममा प्रमुख अतिथि नबनाई अतिथि मात्र बनाइने गरी निर्देशन आयो । रेणु यादवलाई प्रमुख अतिथि बनाएर प्रकाश अधिकारी र विजय यादवपछि चौंथो स्थानमा राजकिशोरको नाम राखियो ।

कार्यक्रममा नगएपछि जसपाभित्रको विवाद छताछुल्ल भएको छ । वरियता र पार्टी कार्यक्रममा कसलाई कुन स्थान भन्ने विवाद समेत चर्किएको छ ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुरसहित छ जना अध्यक्षमण्डलमा रहेको राष्ट्रिय जनता पार्टी एक भएर जनता समाजवादी पार्टी बनेको हो । पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् ।