मुलुकको समृद्धिको लागि पनि एमाले एकता आजको आवश्यकत्ता हो : सोमप्रसाद पाण्डे (भिडिओसहित)


काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आफुहरुले आजको बैठकलाई अवैद्य नभनेको जिकिर गरेका छन् । तर, केन्द्रीय कमिटीको बैठक बोलाउँदाखेरि पहिले स्थायी कमिटीको बैठक राख्ने चलन रहेको उनले स्मरण गराए । उनले अध्यक्ष केपी शर्मा ओलीले एकाएक केन्द्रीय कमिटी बैठक बोलाएको पनि गुनासो पोखे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठक राख्नुभन्दा अघि नै अध्यक्ष ओलीले केही तयारी गर्नुपर्ने थियो भन्ने धारणा राखे । उनले आफुहरु एकताको लागि बाधक नभएको पनि जिकिर गरे । पार्टीभित्र लामो समयदेखि अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच तिक्तता रहेकोले अलिक हतारमा बैठक बोलाईएको उनको भनाई छ । आफूहरुले आजको बैठक सार्नुपर्ने प्रस्ताव राखेको पनि सुनाए । तर, बैठक नसारेकोमा उनले गुनासो पोखे ।

आफ्ना शर्त नमाने माधव नेपालले नयाँ पार्टी घोषणा गर्छु भनेर नभनेको पनि पाण्डेले स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी नै घोषणा गर्छु भनेर भन्नुभएको छैन् । यदि चाहीँ अन्तिम फ्लोरमा पुगियो, एकताको कुनै बाटो नै निस्किएन भने एउटा विकल्प होला । तर, अहिले कार्यदलले वर्कआउट गरिरहेको छ । यसको कारण भनेको पार्टी नफुटोस भन्ने हो ।’ उनले पार्टी एकता हुने दाबी गरे । उनले भने,‘मलाई विश्वास छ, पार्टी एकता हुन्छ । नवौं महाधिवेशनबाट तयार गरिएका सम्पूर्ण संरचना अब चलायमान हुन्छन् । पार्टी एक भएर अघि बढ्छ । मेरो चाहना यही हो । सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पनि एक हुनुपर्छ ।’

उनले हिजोमात्रै पनि अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कुराकानी भएको सुनाए । दुई नेताबीच ४७ वर्ष लामो राजनीतिक सहकार्य रहेको उल्लेख गर्दै दुई नेता मिल्ने उनको विश्वास छ । मुलुकमा अहिले राजनीतिक स्थिरता आवश्यक रहेकोले एमालेको भविष्य नै मुलुकको भविष्य भएकोले एमाले एकता आजको आवश्यकत्ता भएको पाण्डेको भनाई छ ।