काठमाडौं, ४ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एटलान्टामाथि रोमान्चक जित निकालेको छ ।
बुधबार राति भएको खेलमा २–० गोल अन्तरले पछि परेको युनाइटेडले खेललाई उल्ट्याउँदै एटलान्टामाथि ३–२ गोल अन्तरको जित निकालेको हो ।
खेलको १५औं मिनेटमा मारियो पासालिसले गोल गर्दा एटलान्टाले सुरुवाति अग्रता बनाएको थियो । यस्तै मेरिह डिमिरलले २८औं मिनेटमा गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए । पहिलो हाफ २–० को अवस्थामा सकिएको खेलमा दोस्रो हाफमा भने युनाइटेड खेलमा फर्कियो ।
खेलको ५३औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । खेलको ७५औं मिनेटमा ह्यारी मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
साथै, खेलको ८१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई शानदार जित दिलाएका थिए । यस जित सँगै समूह ‘एफ’ मा रहेको युनाइटेड ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । एटलान्टा ४ अंकका साथ दोस्रो स्थानमा छ ।-Photo: Agency




प्रतिक्रिया