कांग्रेसको टिप्पणी- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ


१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्।

पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा सरकारको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई दुःख दिने काम स्वीकार्य नहुने बताएका छन्।

लोकतन्त्रको अवस्था मापन गर्ने महत्त्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यममाथि दबाब र पत्रकारमाथि दुर्व्यवहार हुने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताए।

‘कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा प्रेस स्वतन्त्रता कति छ भन्नेमा निर्धारण हुन्छ। लोकतन्त्रमा मिडियालाई ह्यारेस गरियो भने त्यो लोकतन्त्र रहँदैन,’ उनले भने।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूलाई प्रश्न गर्दै शर्माले उनीहरूको हातमा कालोपट्टी नदेखिएको विषयसमेत उठाए। ‘तपाईंहरूको हातमा किन कालोपट्टी छैन ?’ उनले प्रश्न गरे।

शर्माले कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसबारे पुनः प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे।

सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै उनले अहिलेको अवस्थामा आईजीपी हटाउनु सरकारको मुख्य प्राथमिकता हुनुपर्ने हो कि होइन भन्ने प्रश्न गरे।

‘यो बेलामा सरकारले गर्नुपर्ने के थियो र के गर्दैछ ? आईजीपी हटाउने अहिलेको प्राथमिकता हो ?’ उनले भने।

सिंहदरबार र बालुवाटारमा भइरहेका गतिविधिमाथि टिप्पणी गर्दै शर्माले मतदाताले दिएको मतको सम्मान नभएको आरोप लगाए। ‘सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ। मतदाताले दिएको मतको सम्मान छैन। ठीक ढंगले चलिरहेको छैन,’ उनले भने।

सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले सरकारको कार्यशैली र पछिल्लो राजनीतिक परिस्थितिबारे असन्तुष्टि व्यक्त गरे।

यसैगरी, एक विचौलियाको मोबाइल नियन्त्रणमा लिएपछि त्यसबाट प्राप्त सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुग्यो भन्ने विषयमा पनि शर्माले प्रश्न उठाए।

‘एक जनाको मोबाइल कब्जा गरेपछि त्यो किन प्रधानमन्त्रीको सल्लाहकारकहाँ पुग्यो ? यो कुन मर्यादाअनुसारको हो ? प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?’ उनले प्रश्न गरे।

अडियो प्रकरणबारे बोल्दै शर्माले सार्वजनिक भएका अडियोहरू कपोलकल्पित र नियोजित रहेको दाबी गरे। उक्त प्रकरणमा संलग्न पात्रहरू समयक्रमसँगै खुल्दै जाने उनको भनाइ थियो।