नोबेल शिक्षण अस्पतालका चिकित्सकको मृत्युपछि चारजना नियन्त्रणमा


काठमाडौं, २० चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत २७ वर्षीय डा.विजय यादव मृत अवस्थामा भेटिएका थिए । मुख, नाकबाट रगत निस्कनुको साथै छाती, हात खुट्टामा चोटपटक लागेको अवस्थामा उनको शव उनी बस्ने डेराको गेटमा भेटिएको प्रहरीले जनाएको थियो ।

बंगलादेशबाट एमबीबीएुस गरेका मृतक डा. यादवको बाहिर हत्या गरी फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले सोधपुछको लागि चार जनालाई नियन्त्रणमा लिएको छ । मृतक यादव अस्पतालमा उपकरण सप्लाई गर्ने जीवन कठेत र अर्का साथी सुदीप पौडेलसँगै बसेर होटलमा राति ११ बजेसम्म बसेको तथ्य खुलेको छ । कठेत र पौडेललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुले होटलमा बसेर खानपिन गरेको र आफुहरु तीनै जना एउटै स्कुटरमा चढेर राति ११ बजे विजयलाई उनको डेरा नजिक पुर्याएको बताएका छन् । फार्मेसीका सञ्चालक राजेश यादव र मृतकसँग धेरै समय अघि विवाद गर्ने नोबेलकै बबी यादव पनि प्रहरीको नियन्त्रणमा छन् ।

मृतक यादवको एउटा खुट्टामा जुत्ता र अर्को खुट्टामा जुत्ता नभएको अवस्थामा शव भेटिएको थियो । मृतकका परिवारले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् । शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ ।