भुटानी शरणार्थी प्रकरण: थुनामुक्त गर्न मागगर्दै परेको रिट डाँगी र रेग्मीको संयुक्त इजलासमा


काठमाडौं,२५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथि आज सुनुवाईका लागि पेशी परेको छ । उच्च अदालतमा पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा उक्त निवेदनको सुनुवाई हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतले १ असारमा परेको फैसला चित्त नबुझेपछि थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पाटनमा यस प्रकरणका आरोपीतले निवेदन दिएका थिए ।

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलगायतले गत साउन १२ गते दर्ता गराएको रिट यसअघि ४ पटक पेशीमा चढिसकेको छ । पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेशी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेशीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए ।

खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले

जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।