काठमाडौँ। वैकल्पिक राजनीतिको जगमा उदाएको र संसद्मा आफ्नो बलियो उपस्थिति जनाइसकेको राष्ट्रिय स्वतन्त्र पार्टी अब आफ्नो सांगठनिक संरचनालाई जगैदेखि संस्थागत गर्ने नयाँ मोडमा आइपुगेको छ। मंगलबार बिहान ९ बजे बागमती प्रदेशको राजधानी हेटौँडास्थित हिमालयन दरबारमा रास्वपाको प्रथम प्रादेशिक अधिवेशन हुँदैछ। अधिवेशनको उद्घाटन गर्न पार्टी सभापति रवि लामिछाने आफैँ हेटौँडा ओर्लिने कार्यतालिका छ। आगामी निर्वाचनका लागि जग बलियो बनाउने रणनीतिका साथ रास्वपाले बागमतीका १३ वटै जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधिहरूलाई हेटौँडामा उतारेको छ। तर, यो अधिवेशन केवल औपचारिक भेला मात्र हुने छैन, यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र गुटीय व्यवस्थापनको पहिलो वास्तविक परीक्षासमेत लिनेछ।
प्यानलसहित चुनावी मैदानमा आकांक्षीहरू
रास्वपाले आफूलाई परम्परागत पार्टीहरूभन्दा फरक र लेबी तथा भोटका आधारमा चल्ने रैथाने लोकतान्त्रिक दल दाबी गर्दै आए पनि बागमतीको नेतृत्व हत्याउन भने पुराना दलहरूकै शैलीमा प्यानलगत भिडन्त हुने संकेत देखिएका छन्। ६५ सदस्यीय बागमती प्रदेश समितिको कमाण्ड सम्हाल्न पार्टीभित्र दुईवटा स्पष्ट धार देखा परेका छन्।
निरन्तरताको दाबी
पार्टी स्थापनाकालदेखि नै बागमती प्रदेशको कमाण्ड सम्हाल्दै आएका हालका सभापति डा. अच्युत्तम लामिछाने पुनः सोही पदमा दोहोरिने दाउमा छन्। केन्द्रीय समितिमा जानुभन्दा प्रदेशकै संगठन बलियो बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको उनको जिकिर छ। ‘म यही जिम्मेवारीमा रहन चाहेको छु, साथीहरूले पनि इच्छा देखाउनुभएको छ, लोकतान्त्रिक प्रक्रियामा चुनाव हुनु स्वाभाविक हो,’ डा. लामिछानेले भने।
परिवर्तनको नारा
डा. लामिछानेलाई चुनौती दिँदै बागमती प्रदेश समितिका हालका प्रवक्ता उत्सव अर्यालले सभापतिमा बलियो आकांक्षा देखाएका छन्। रास्वपाका केन्द्रीय विभागका एक सदस्यका अनुसार, दुवै आकांक्षीहरू भित्रीरूपमा आ–आफ्नो प्यानल नै बनाएर चुनावी आक्रामक तयारीमा जुटेका छन्।
सभापति मात्र होइन, अन्य पदाधिकारीमा पनि तीव्र प्रतिस्पर्धा छ। उपसभापति पदका लागि शंखरापुर अस्पतालका सञ्चालक एवं स्वास्थ्य विभागका डा. रमेश ढकाल र नेतृ मेनुका ठकुरी आमनेसामने हुने मुडमा छन् भने महामन्त्रीमा सुरेन्द्र भट्टले आफ्नो पद सुरक्षित राख्न जोडबल गरिरहेका छन्।
दुई चरणको नौलो निर्वाचन विधि
रास्वपाले आफ्नो विधानमार्फत नेतृत्व चयनका लागि परम्परागत दलहरूभन्दा केही फरक र नयाँ निर्वाचन प्रणाली अघि सारेको छ। निर्वाचन हुने अवस्थामा मतदानलाई दुई चरणमा विभाजन गरिएको छ–
पहिलो चरण
महाधिवेशनका प्रतिनिधिहरूले सुरुमा सभापति र प्रदेश सदस्यका लागि मात्र मतदान गर्नेछन्।
दोस्रो चरण
पहिलो चरणबाट चुनिएका प्रदेश सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री (फरक लिंगको हुनुपर्ने), कोषाध्यक्ष र प्रवक्ता जस्ता अन्य पदाधिकारीहरू छानिनेछन्।
बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ, जसमा सहमहामन्त्री पदमा दुई जना रहने र उनीहरू अनिवार्य रूपमा फरक–फरक लिङ्गको हुनुपर्ने विधानको बाध्यकारी व्यवस्था छ।
केन्द्रमा पपुलिजम र सामाजिक सञ्जालको बलमा टिकेको आरोप खेपिरहेको रास्वपाका लागि यो प्रादेशिक अधिवेशन भुइँको यथार्थ बुझ्ने र संगठनको परीक्षा दिने एउटा कसी हो। बागमतीका १ हजार १२१ वडामध्ये झण्डै ९०० वडा र सबै ११९ पालिकामा संगठन विस्तार गरेको दाबी गर्ने रास्वपाले हेटौँडा अधिवेशनमा प्रतिनिधिहरूबाट जनही १५ सय रुपैयाँ शुल्क उठाएर अधिवेशन खर्च आफैँ व्यहोर्ने मितव्ययी मोडेल अघि सारेको छ, जुन सकारात्मक छ।
तर, नेतृत्व चयनको सङ्घारमा आइपुग्दा पार्टीभित्र सुरु भएको प्यानलगत लुकामारीले के स्पष्ट पार्छ भने– नाम र नारा जतिसुकै स्वतन्त्र र नयाँ दिए पनि शक्ति आर्जन र पदको महत्वाकांक्षा चल्ने राजनीतिको नियम पुरानै हो। उद्घाटन सत्रमा सभापति रवि लामिछानेले दिने भाषणभन्दा बन्द सत्रमा हुने प्यानलको भिडन्त र त्यसले निम्त्याउने आन्तरिक असन्तुष्टिको व्यवस्थापन कसरी हुन्छ, रास्वपाको परिपक्वता त्यसैबाट कसिनेछ। हेटौँडाको हिमालयन दरबारबाट रास्वपाले नयाँ राजनीतिक संस्कारको जग हाल्छ कि परम्परागत गुटबन्दीकै पुनरावृत्ति गर्छ, त्यो हेर्न मंगलबारको परिणाम पर्खिनैपर्छ।



प्रतिक्रिया