जनकपुरधाम । वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद र संगठनात्मक कमजोरी मधेश प्रदेशमा सतहमा आएको छ । आगामी जेठ २८ गते तोकिएको प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा सुरु भएका मधेशका आठै जिल्लाका अधिवेशनहरू विवाद, प्रक्रियागत असहमति र कुटाकुटसम्मका घटनाका कारण प्रभावित भएका छन् । हालसम्म कुनै पनि जिल्लाले आफ्नो नेतृत्व चयन गर्न सकेका छैनन् ।
जिल्ला-जिल्लामा देखिएको विवाद र भद्रगोलको अवस्था यस्तो छ:
- महोत्तरीमा अनिश्चितकालका लागि स्थगित: शनिबार जलेश्वरमा सुरु भएको महोत्तरी जिल्ला अधिवेशन दुई पक्षबीचको तीव्र विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । बन्दसत्रमा समेत सहमति जुट्न नसकेपछि र शान्ति सुरक्षाको स्थिति खस्किएपछि निर्वाचन संयोजक मनिषकुमार साहले अधिवेशन रोकेको घोषणा गरे ।
- धनुषामा तालाबन्दी र कुटाकुट: धनुषामा विवादले उग्र रूप लिएको छ । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवले मनोमानी गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले पार्टी कार्यालयमै तालाबन्दी गरिदिएको छ । यसअघि पालिका अधिवेशनका क्रममा कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो ।
- सर्लाहीमा प्राविधिक र प्रक्रियागत अल्झो: सर्लाहीमा भने डिजिटल व्यवस्थापनको कमजोरी देखिएको छ । मतदाता नामावली, पालिका अधिवेशनका कागजात र प्रतिनिधिहरूको विवरण पार्टीको डिजिटल पोर्टलमा अद्यावधिक नभएपछि निर्वाचन प्रक्रिया नै रोक्नुपरेको जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले जानकारी दिए ।
- सिरहा, रौतहट, बारा र पर्सामा पनि ब्रेक: सिरहामा जेठ २४ गते सहमति हुन नसकेपछि निर्वाचनको तयारी गरिएको थियो, तर अन्तिम समयमा विवाद भएपछि प्रक्रिया स्थगित भयो । रौतहट, बारा र पर्सामा पनि आन्तरिक किचलो र दाउपेचका कारण अधिवेशनहरू प्रभावित भएका छन् ।
प्रदेश अधिवेशन संकटमा:
जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशनअगावै जिल्ला तहको संगठन टुंग्याउनुपर्ने बाध्यतामा रास्वपा नेतृत्व छ । तर, भुइँतहको विवाद, आन्तरिक असन्तुष्टि र व्यवस्थापकीय कमजोरीका कारण मधेशमा रास्वपाको सांगठनिक साख नै परीक्षाको घडीमा आइपुगेको छ ।



प्रतिक्रिया