सवा पाँच लाख सदस्य र रास्वपाको महाधिवेशन दौड


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्यता लिनेको संख्या सवा पाँच लाख पुगेको छ । आगामी असार पहिलो साता तय भएको पार्टीको प्रथम ऐतिहासिक राष्ट्रित महाधिवेशनको मिति नजिकिँदै जाँदा रास्वपामा आबद्ध हुनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

केन्द्रीय संगठन विभागले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाको डिजिटल तथा भौतिक माध्यमबाट सदस्यता लिनेको संख्या ५ लाख १६ हजार २५६ पुगेको छ । यो शनिबारसम्मको प्रमाणित तथ्यांक हो भने आइतबार र सोमबार संकलन भएका आवेदनहरूको अन्तिम रूजु हुन बाँकी रहेकाले यो संख्या अझै बढ्ने देखिन्छ ।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार रास्वपामा जोडिन चाहने सर्वसाधारण र शुभेच्छुकहरूको संख्या दिनानुदिन बढिरहेको छ । परम्परागत राजनीतिक दलहरूभन्दा फरक शैली अपनाउँदै रास्वपाले मोबाइल एप र अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सक्ने प्रविधिमैत्री व्यवस्था मिलाएको छ, जसका कारण युवा पुस्ताको आकर्षण बढी देखिएको छ ।

५६ जिल्लामा अधिवेशन सम्पन्न

महाधिवेशनको पूर्वतयारी स्वरूप रास्वपाले देशैभर आफ्नो सांगठनिक संरचनालाई तल्लो तहदेखि नै संस्थागत गरिरहेको छ । देशका अधिकांश वडा र पालिका तहको अधिवेशन सम्पन्न भइसकेका छन् भने अहिले जिल्ला अधिवेशनहरू धमाधम अघि बढिरहेका छन् ।

पार्टीको पूर्वघोषित कार्यतालिका अनुसार जेठ २३ र २४ गते नै सबै जिल्लाको अधिवेशन सक्ने लक्ष्य राखिएको भए तापनि आन्तरिक तयारी र तराई–मधेसका केही जिल्लाको विशेष परिस्थितिका कारण केही स्थानमा सोमबार र मंगलबार पनि अधिवेशनको प्रक्रिया चलिरहेको छ । हालसम्म ७७ मध्ये ५६ वटा जिल्लाको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने १२ वटा जिल्लामा अधिवेशन प्रक्रिया जारी छ । आन्तरिक विवादका कारण सिन्धुपाल्चोकको जिल्ला अधिवेशन भने हाललाई स्थगित गरिएको छ भने केही हिमाली तथा दुर्गम जिल्लामा यसपटक अधिवेशन नहुने पार्टीले जनाएको छ ।

रास्वपाको पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी असार ७, ८ र ९ गते बागमती प्रदेशको चितवनमा हुँदैछ । स्थापनाको छोटो समयमै देशको चौथो ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो महाधिवेशन र पाँच लाखभन्दा बढीको यो संगठनात्मक आधार आगामी निर्वाचनका लागि जग बलियो बनाउने महत्त्वपूर्ण कडी सावित हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

Skip This

Omoda E5 Pro