धनगढी, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेपाली कांग्रेसले टुङ्गो लगाएको छ। पार्टीभित्रको बढ्दो आन्तरिक विवाद र असन्तुष्टिलाई साम्य पार्न कांग्रेसले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेको हो।
लामो समयदेखिको रस्साकस्सीपछि कांग्रेसले दुवै पक्षलाई समेटेर मन्त्रीहरूको सूची फाइनल गरेको बुझिएको छ। जसअनुसार संस्थापन र इतर पक्षको सन्तुलन मिलाउन दुई खेमाबाट प्रतिनिधित्व गराइएको छ।
को–को बन्दैछन् मन्त्री?
दिवानसिंह विष्ट पक्षबाट:
- बेलबहादुर रानामगर (कञ्चनपुर)
- मानबहादुर रावल (अछाम)
- जुना दानी (बाजुरा)
मुख्यमन्त्री कमलबहादुर शाह पक्षबाट:
- विक्रमसिंह धामी (दार्चुला)
- मधु भारती (कञ्चनपुर)
अविश्वासको प्रस्ताव फिर्ता र नयाँ समीकरण
यसअघि विष्ट खेमाले संसदीय दलमा मुख्यमन्त्री एवं संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम कांग्रेसभित्र तीव्र विवाद चुलिएको थियो। सोही विवादलाई मत्थर पार्न र सरकार टिकाउन मुख्यमन्त्री शाह विरोधी खेमालाई समेत सन्तुलनमा ल्याउन बाध्य भएका हुन्। भागबन्डा मिलेसँगै कांग्रेसभित्रको तत्कालको संकट टरेको विश्लेषण गरिएको छ।
आजै साँझ शपथ, एमाले भने अलमलमा
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै साँझ ६ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तयारी गरिएको छ।
यता, सत्ता साझेदार दल नेकपा (एमाले) बाट मन्त्री हुनेहरूको सवालमा भने अझै टुङ्गो लाग्न सकेको छैन। एमालेभित्र बजेट प्रस्तुत भएपछि मात्रै नयाँ मन्त्रीहरू पठाउनुपर्ने मत बलियो रहेकाले आजै उनीहरूको शपथ हुने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ।



प्रतिक्रिया