विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।
प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरेको हो ।





प्रतिक्रिया