रास्वपा सरकारको केटाकेटीपनले देश चल्दैन- नेता पराजुली


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको रास्वपा नेतृत्वको सरकारले जनअधिकारको कटौती र बेवास्ता गरेको आरोप लगाए। ‘इतिहासले स्पष्ट पारेको छ— सत्ता र शक्तिमा बस्नेले राम्रो काम नगरे जनता र राजनीतिक दलहरू सडकमा उभिन बाध्य हुन्छन्,’ उनले भने, ‘अहिले सिंहदरबार र बालुवाटारबाट आलोकाँचो शैलीमा सरकार सञ्चालन भइरहेको छ।’

कूटनीतिक मर्यादा उल्लंघन भएको दाबी गर्दै नेता पराजुलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सन्तुलित सम्बन्धमा सरकारले खलल पुर्‍याएको बताए। सरकारका कतिपय नियुक्तिहरू विवादास्पद बनेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘हाम्रो आन्तरिक नियुक्तिमा दलाई लामाले बधाई दिनुपर्ने कारण के हो ? कूटनीतिक सम्बन्धलाई जहिले पनि मर्यादा र गम्भीरताभित्र राखिनुपर्छ।’

निर्वाचनका बेला रास्वपाले गरेका बाचाहरू भाषणमै सीमित भएको उनको टिप्पणी थियो। ‘चुनावअघि विदेशका गल्ली–गल्लीबाट नेपालीहरूलाई स्वदेश फर्काएर रोजगारी दिन्छौँ भन्नेहरूले खोइ त ल्याउन सकेको ?’ उनले प्रश्न गरे, ‘हावादारी भाषण गर्नु र व्यावहारिक, सिद्धान्तनिष्ठ एवं वस्तुनिष्ठ हुनुमा धेरै फरक छ। राजनीतिककर्मी सिद्धान्तमा स्पष्ट हुनुपर्छ।’

रास्वपा सरकारको केटाकेटीपन र अपरिपक्वताले देश नचल्ने दाबी गर्दै उनले सरकारलाई आफ्ना गल्ती सुधार्न आग्रह गरे। नेकपाले सुरु गर्न लागेको जागरण अभियानमार्फत सरकारका गलत कदमहरूबारे जनताका बीचमा पुगेर खबरदारी गरिने उनले बताए।