काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पपुलिज्मले राजनीतिमा के गर्छ भन्ने उदाहरण अहिले युक्रेन बनेको टिप्पणी गरेका छन् । ह्वाईट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीचको वार्तापछि रिजालले यस्तो टिप्पणी गरेका हुन् । अमेरिकाले युक्रेनको नभएर आफ्नो राष्ट्रिय स्वार्थ हेरेको र रुससँग मिल्दा बढि फाइदा हुने देखेर रुसका पक्षमा उभिएको उनको तर्क छ ।
रिजालले फेशबुकमा लेखेका छन्–
आजभन्दा १ सय ७७ बर्षअघि सन् १८४८ मा बेलायती प्रधानमन्त्री लर्ड पाल्मस्र्टनले हाउस अफ कमन्सलाई सम्बोधन गर्दै भनेका थिएः
“We have no eternal allies, and we have no perpetual enemies. Our interests are eternal and perpetual, and those interests it is our duty to follow.”
अर्थात् अन्तर्राष्ट्रिय सम्बन्धमा न सर्वकालिक सहयोगी हुन्छन् न त सदाबहार शत्रु नै हुन्छन्, केबल स्वार्थहरु मात्रै सर्वकालिक र सदाबहार हुन्छन् । आज डोनाल्ड ट्रम्पले युक्रेनका विषयमा जे गरेका छन्, यसै दर्शनबाट निःसृत छ । अमेरिकाले युक्रेनको होइन, आफ्नो राष्ट्रिय स्वार्थ हेरेको छ र रुससँग मिल्दा बढी फाइदा हुने देखेर रुसका पक्षमा उभिएको छ । युक्रेनले पनि नाटो वा अमेरिकाको पछि नलागेर नजिकको छिमेकीसँग आफ्नो राष्ट्रिय स्वार्थलाई हेरेर सम्बन्ध अघि बढाएको भए युक्रेनको आजको अवस्था आउने थिएन ।
पपुलिज्मले राजनीतिमा के गर्छ भन्ने उदाहरण युक्रेन बनेको छ । टिभी प्रस्तोता, २०१९ को राष्ट्रपति निर्वाचनको मुखमा मात्रै राजनीतिमा आएका र अरु सबै चोर, भ्रष्ट र असक्षम हुन् भन्ने नारा लगाएर लोकप्रिय मतसहित राष्ट्रपति जितेका जेलेन्स्कीका कारण युक्रेन आजको अवस्थामा आइपुगेको छ । त्यसैले भनिन्छ– घाँटी हेरेर हाड निल्नुपर्छ । नत्र धीर शमशरेको जस्तै घाँटीमा हड्डी अड्केर मानिस मात्र मर्दैन, देश पनि मर्दछ ।




प्रतिक्रिया