काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा पूर्वमन्त्री भानुभक्त जोशीले अहिले ल्याईएका सबै अध्यादेश फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । उनले अहिले ल्याईएका कुनैपनि अध्यादेश देशको हितमा नभएको दाबी गरे ।
उनले भने,‘मूल रुपमा नेकपा एकीकृत समाजवादी यी अध्यादेशको पक्षमा छैन । प्रक्रियागत ढंगले पनि ठीक भएन । अर्कोतर्फ, विषयवस्तुको हिसाबले पनि ठीक भएन । संसद बोलाउने बेलामा अध्यादेश जारी गरियो । कांग्रेस र एमाले यो देशका जिम्मेवार दल हुन् । तर, उहाँहरुले यो विवादित काम किन गर्नुभयो ?’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले खासगरी कांग्रेस र एमालेले सत्ता पक्षमा भएका र सरकारमै भएका दलहरुसँग पनि कुनै सल्लाह वा परामर्श नगरिकन अध्यादेश जारी गरेको देखिएको टिप्पणी गरे । जोशीले कांग्रेस र एमालेबीच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको गम्भीर टिप्पणी गरे । उनले भने,‘हामीसँगको कुराकानीमा कांग्रेसका धेरै नेताहरुले सहमति छैन भन्नुहुन्छ । यो अध्यादेश एमालेका मन्त्रीहरु भएको ठाउँबाट मात्रै आएको छ । प्रधानमन्त्री किन फस्नुभयो होला ?’
उनले देशमा अनेकखालका समस्या रहेको सुनाउँदै तीनको हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘प्रधानमन्त्री आँफै जिम्मेवार हुनुहुन्छ, कांग्रेस नेताहरु पनि जिम्मेवार हुनुहुन्छ । कमिकमजोरी स्विकारेर यी अध्यादेश फिर्ता लिनुपर्छ ।’ उनले यसअघि एसिडसम्बन्धी अध्यादेश ल्याईँदा सबै क्षेत्रबाट स्वागत भएको सुनाउँदै अहिले आएका अध्यादेशका विषयवस्तु (कन्टेन्ट) ठीक नभएको टिप्पणी गरे ।
उनले भने,‘यी ६ वटा अध्यादेशमार्फत २९ वा ३० कानून जे संशोधन गरिएको छ, यसले धेरै ठूलो विवाद सिर्जना गरेको छ । सहज वातावरण सिर्जना गर्नको लागि पहल गर्न म कांग्रेस र एमालेका साथीहरुलाई अपिल गर्दछु ।’
उनले कांग्रेस र एमालेजस्तो जिम्मेवार दलले अरु दल विभाजनतर्फ लाग्न नहुने धारणा राखे । उनले भने,‘हिजो विषम परिस्थिति भएको बेलामा अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी बनेको हो । त्यसको पनि समिक्ष होला । अहिले दुई वटा ठूला राजनीतिक दलहरु यस्ता झिना, मसिना दलहरुलाई विभाजन गर्ने काममा लाग्नुहुनेछैन् । बरु, विपक्षी दलहरुसँग मिलेर देशका ठूला र जटिल समस्या समाधान गर्नतर्फ लाग्नुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’




प्रतिक्रिया