काठमाडौँ, २३ फागुन । सांसदहरुले अझै पनि महिलाले विभिन्न प्रकारणका उत्पीडत र विभेद खेपिरहनुपरेको बताएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा सांसद उर्मिला अर्यालले अन्तरराष्ट्रिय श्रमिक महिला दिवसले महिलामाथिको उत्पीडन, विभेदभावलाई अन्त्य गर्न पहल गरेको भए पनि अहिले पनि महिलाले विभेद झेलिरहनुपरेको बताइन् ।
“व्यवहारमा महिला र पुरुषबीच अझै समानता देखिँदैन, महिलाले अहिले पनि पाइला–पाइलामा विभेद भोगिरहेका छन्”, सांसद अर्यालले भनिन्, “महिलाको हकअधिकारलाई स्थापित गर्न अहिले पनि सबै एक हुन जरुरी छ, राज्य, महिला अधिकारकर्मी सबैको एकताबद्ध जरुरी छ ।”
सांसद गङ्गाकुमारी बेल्वासेले महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुले महिलाको क्षमता विकास, सहभागिताको सुनिश्चित गर्नुपर्ने र महिला अधिकारको प्रयोग भएमा समग्र परिवारको उन्नति हुने बताइन् ।
सांसद सुमित्रा विसीले महिलालाई गर्भवती, सुत्केरी हुँदासम्म बिदा नदिने, उचित पारिश्रामिक नदिनेजस्ता समस्या अहिले पनि देखिएको र अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा यस्ता खालका विषयमा बहस चलाउन जरुरी भएको बताइन् ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले गृहिणीको श्रमिकको अहिलेसम्म अर्थ उपार्जनसँग नजोडिएको हुनाले उनीहरुको योगदानलाई बिर्सनु नहुने र मूलधारमा ल्याउनुपर्नेमा जोड दिइन् । उनले नेपालमा पनि धेरै महिलाको बलिदानी रहेको स्मरण गरिन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले ४० लाखभन्दा बढी दलित समुदायले अहिले पनि छुवाछुत र भेदभाव सहनुपरेको उल्लेख गर्दै कतिपय अवस्थामा मलामी नपाउने, अन्तरजातीय विवाहलाई मान्यता नदिनेजस्ता अवस्थाप्रति दुःख व्यक्त गरे । सांसद परियारले यस्ता मानवीय घटनाहरु भए पनि दलित समुदायका लागि धेरै राम्रा प्रयास भएको र समावेशी सिद्धान्तका आधारमा दलित समुदायलाई प्रतिनिधित्वको सुनिश्चित गर्ने काम भएको बताए ।
सांसद भुवनबहादुर सुनारले मन्दिर र पँधेरामा विभेद, अन्तरजातीय विवाहमा विभेदजस्ता घटना अहिले पनि धेरै हुने गरेको र समाज जातीय विभेदका नाममा जघन्य अपराध भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद मृगेन्द्रकुमार सिंह यादवले वर्तमान सरकारले संविधान संशोधन गर्ने, आर्थिक अवस्थालाई सन्तुलन, भ्रष्टाचार निवारण गर्ने र सुशासन कामय गर्ने भनिएको भए पनि गुणदोषको आधारणा सरकारलाई सहयोग गर्ने बनाए । उनले राज्यको स्थापनाकालदेखि महिला, मधेसी, दलित, आदिवासीहरु पछाडि परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद वामदेव गौतमले विकास निर्माण अघि बढाउँदा विभिन्न भू–भागबारे ध्यान दिनुपर्ने र सडक तथा संरचना निर्माण गर्दा भूकम्पले ठूलो क्षति पु¥याउने र मानव समाजलाई समेत असरपर्ने बताए । उनले सडक निर्माण गर्दा वैज्ञानिक तरिकाले अध्ययन गर्नुपर्ने र त्यसले मानवजातिलाई ठूलो सहयोग पुग्ने सुझाव दिए ।
सांसद विष्णुबहादुर विश्वकर्माले मुलुकमा नीतिगत भ्रष्टाचार मौलाएको र त्यसलाई रोक्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । रासस




प्रतिक्रिया