‘महिलाको घरपरिवारदेखि सार्वजनिक स्थलसम्मको सुरक्षा महत्वपूर्ण’


काठमाडौँ, २३ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सबै उमेर समूहका महिलाको घरपरिवारदेखि सार्वजनिक स्थलसम्मको सुरक्षा महत्वपूर्ण रहेको बताएका छन् । उनले महिलासँगै विशेषगरी बालिकाहरुको समस्या विशेष रुपमा सम्बोधन गर्नुपर्ने अवस्था रहेको समेत उल्लेख गरे ।

राष्ट्रिय महिला आयोगको २३औँ स्थापना दिवस तथा ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सुडीले भने, “लैङ्गिक हिंसाको जोखिममा महिलाहरु परिरहने र हिंसाकै कारण सशक्तीकरणको पक्ष ओझेल पर्दा राष्ट्रिय लक्ष्यहरु पूरा गर्नमा अवरोध खडा भएका छन् ।” उनले अधिकारको प्रत्याभूतिबाट नै समानता हासिल हुने उल्लेख गर्दै महिलाका मुद्दाहरुलाई मुख्य प्राथमिकताका रुपमा उठान गर्दै आएको बताए ।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले देशभित्रबाट मात्र नभइ विदेशमा रहने नेपाली महिलाका विषय पनि आयोगले सम्बोधन गरिदिनुपर्छ भन्ने अपेक्षा रहेको बताइन् । उनले त्यसका लागि सबैको सहकार्य र एक्यबद्धता आवश्यक रहेको उल्लेख गरे ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले परम्परागत सोच र रुढीवाढी प्रथा हट्दै गएमा समानता र महिला सशक्तीकरण हुँदै जाने बताइन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महिला आयोगले सिफारिस गरेका महिलाका मुद्दालाई कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले भनिन्, “यो सबै महिलाको आयोग हो । यसले उठान गरेका मुद्दामा गम्भीर हुन जरुरी छ ।”

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोगलगायतका पदाधिकारीहरुको उपस्थिति थियो । स्थापना दिवसको अवसरमा संस्थाप्रति योगदान पु¥याउने कर्मचारीलाई सम्मान समेत गरिएको थियो । रासस/file photo