बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ


काठमाडौं, ३० साउन । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको तर्फबाट ५ जना मन्त्री नियुक्त गरेका थिए । यो सँगै बागमतीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमतीमा सामाजिक विकास मन्त्रीमा कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जिम्मेवारी पाएका छन् ।

यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा विना विभागीय मन्त्री बनेका शिवराज अधिकारीले पनि जिम्मेवारी पाएका छन् । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।