महाधिवेशनका लागि सभापति देउवालाई सामाजिक सञ्जालमार्फत दवाब दिन कोइरालाको आग्रह


काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताए ।

‘हामी अधिवेशनको सङ्घारमा छौँ । छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस्,’– उनले भने ।

नेता डा.कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने भन्ने चर्चा पार्टीभित्र सुनिन थालेकामा आपत्ति जनाउँदै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पारे । साथै, पार्टीको अनुशासन समिति नै गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत मान्यता नदिएको उनको आरोप थियो ।

डा.कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र सङ्गठनात्मक एकता अनिवार्य रहेको उल्लेख गर्दै त्यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिए । कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने उनको भनाइ थियो ।