काठमाडौं महानगरको आतङ्क बन्द हुनुपर्छः पूर्ण बस्नेत


काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले काठमाडौं महानगरपालिकाको आतङ्क बन्द हुनुपर्ने बताएका छन् । वैकल्पिक व्यवस्था नगरी स्थानीय र गरिब जनतालाई आतङ्कित पार्ने काममा काठमाडौं महानगरपालिका अग्रणी भएको भन्दै उनले जनतामाथि भइरहेको ज्यादती यथाशीघ्र बन्द हुनुपर्ने बताएका हुन् ।

‘काठमाण्डौ महानगरपालिका नागरिकका आधारभूत आवश्यकता खोस्ने स्थानीय सरकार बनेको छ । नागरिकको जीवनभन्दा सहरको सुन्दरता ठूलो र महत्वपूर्ण कदापी हुन सक्दैन । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार स्थानीय र गरिब जनताको उठिबास गराउने होइन,’– उनले भने ।

उनले सबैभन्दा कमजोर वर्ग राज्यबाटै प्रताडित भइरहेका घटना राजधानीमा पटक–पटक दोहोरिरहनु दुःखद् भएको बताएका छन् । सुकुम्बासी बस्तीमा डोजर लगाउने, कवाड र फुटपाथ व्यवसायीमाथि धरपकड र लछारपछार पार्ने काम काठमाडौं महानगरपालिकाको प्राथमिकतामा पर्ने गरेको भन्दै स्थानीय तहको सरकारले जनताको जीवन सरल र सहज बनाउने काम गर्नुपर्ने उनको भनाइ छ ।