ज्ञानबहादुरले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा


काठमाडौं, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको राजीनामा माग गरेका छन् । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि कुनै पहल गर्न नसकेको र विपिनका आमा र बहिनीले गरिरहेको हारगुहारमा सहयोग नगरेको भन्दै राजीनामा माग गरेका हुन् ।

‘नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन,’– उनले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

इजरायल–हमास द्वन्द्वका क्रममा हमासको कब्जामा पर्नुभएका नेपाली नागरिक बिपिनको न्याय र सकुशल रिहाइका लागि उहाँकी आमा र बहिनीले इजरायलमा गएर गरिरहनुभएको हारगुहार तथा उहाँहरूको कारुणिक अवस्थाले मर्माहत भएको छु आफ्नो छोरा तथा दाजुभाइको जीवनरक्षाका लागि उहाँहरूले गरिरहनुभएको संघर्ष र बगाइरहेको आँसुले मेरो मन छियाछिया भएको छ।

​यस्तो संवेदनशील घडीमा नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयको भूमिकालाई लिएर गम्भीर प्रश्न उठेको छ। पीडित परिवार न्यायको खोजीमा भौंतारिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा पर्याप्त र प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको गुनासो जनस्तरबाट आइरहेको छ। जनताको रगत–पसिनाबाट आर्जेको करबाट तलब, भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय संकटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ।

​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन।

​परराष्ट्र मन्त्रालयलाई यस विषयको गाम्भीर्यता बुझी तत्काल निम्न कार्यहरूका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छुः

१.बिपिनको सकुशल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहलस् इजरायल, हमास तथा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी बिपिनको अवस्था पत्ता लगाउन र उहाँलाई सकुशल रिहा गर्नका लागि हरसम्भव कूटनीतिक दबाब सिर्जना गरियोस्।
​ २.इजरायलमा रहेका बिपिनका परिवारलाई आवश्यक मानसिक, नैतिक तथा कूटनीतिक सहयोग उपलब्ध गराइयोस् र उहाँहरूको लागि भइरहेका सबै प्रयासबारे नियमित रूपमा जानकारी गराइयोस्।
​भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कतास् विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दीर्घकालीन रणनीति तथा कूटनीतिक संयन्त्रलाई थप सुदृढ गरियोस्।
​आशा छ, परराष्ट्र मन्त्रालयले यस ध्यानाकर्षण लाई गम्भीरतापूर्वक लिँदै बिपिनको न्यायका लागि तत्काल ठोस कदम चाल्नेछ र नेपाली नागरिकको जीवनरक्षाका लागि आफ्नो कर्तव्य पूरा गर्नेछ।