खहरेको रुपमा मूलधारको राजनीतिमा आएका दलको भविष्य छैनः उपप्रधानमन्त्री पौडेल


काठमाडौं, १ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताए । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो ।

‘वर्तमान सरकारमा एमाले, कांग्रेस र अन्य साना दल सहभागी छौँ । नीतिगत पृष्ठभूमि र कार्यक्रमका आधारमा सहयात्रा गरिरहेका छौँ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । त्यसैले सहयात्रा पूर्वसहमतिअनुसार अगाडि बढ्छ,’– उनले भने ।

हाल स्थिर सरकारको प्रत्याभूति दिने काम भएको भन्दै उपप्रधानमन्त्री पौडेलले केही अस्थिरता खोज्ने व्यक्ति तथा पार्टीले बेला बेला सरकार ढल्दै छ भनेर हल्ला फैलाए पनि त्यो हल्लामै सीमित रहने बताए । उनले खहरेका रूपमा देखा परेर मूलधारको राजनीतिमा आएका तर अस्थिरताको खोजी गरिरहेका दलहरूको भविष्य नभएको टिप्पणी गरे ।

उपप्रधानमन्त्री पौडेलले भगवती जात्राको अवलोकन गर्दै सबै मिलेर यस खालका संस्कृति र परम्परालाई सम्वर्द्धन गर्नुपर्ने र त्यही भावनाअनुसार सरकारले भगवती मन्दिरको पुनःनिर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गरे ।