फेरि मलाई भारतीय भनियो भने अब नागरिकताको टिसर्ट र पाइन्ट लगाएर हिँड्छु : सुदन गुरुङ


काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई भारतीय नागरिक भन्नेलाई अब ‘टिसर्ट र पाईन्ट’ मा नै आफ्नो नागरिकता प्रिन्ट गरेर लगाएर हिँडेर जवाफ दिने भनेका छन् । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले नेपाली जनताले सुदन गुरुङलाई कसरी चिन्ने ? भनेर सोधेका थिए । जवाफमा उनले भने,‘नेपाली नागरिक । त्यति त हो ।’ लगत्तै धमलाले ‘तपाईंको नागरिकतालाई लिएर मान्छेले व्यापक बहस गरे, भारतीय भने’ भनेर पूरक प्रश्न राखेपछि गुरुङले भने,‘मलाई यो किन आईराख्छ, बुझ्न सक्दिनँ है । जहिल्यैपनि मलाई पहिलो आरोप चाहीँ भारतीय भनेर लाग्छ क्या, मलाई अचम्म लाग्छ । हामीले सेभ गोप्पा भनेर ७ महिना आन्दोलन गर्दापनि भारतीय भनेर भन्यो क्या मलाई । त्यतिखेर पनि मैले नागरिकता देखाएँ । अब पनि भन्यो भने चाहीँ बरु म नागरिकताको टिसर्ट बनाउँछु, छातीमा राख्छु । पाईन्टपनि नागरिकता नै नागरिकताको बनाईदिन्छु । अनि म बजारमा हिँड्न थाल्छु । म त गोरखाको हुँ, नेपालमा हुर्किएको हुँ । साईबर सेना लागेको छ, हामीलाई डिभाइड गर्न खोजेको छ ।’