काठमाडौं, कार्तिक १० । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले छठ पर्व समानताको पर्व भएको बताएका छन् । छठ पर्वले छुवाछूतको पीडा, आर्थिक पीडा भुलाउन मद्दत गर्ने बताउँदै उनले यो पर्वलाई पहाडी मूलका महिलाले पनि मधेसी महिलासँगै सामूहिक रूपमा मनाउँदै आएको र मधेश बाहिरपनि हर्साेउल्लासका साथ मनाइँने यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको बताए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भने, ‘छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको छ । यो पर्वलाई अहिले मधेश प्रदेशमा मात्रै नभए भारतमा समेत चार दिनसम्म मनाइँन्छ । यो पर्वको मुख्य विशेषता भनेको उदाउँदो सूर्य र अस्ताउँदो सूर्यलाई अर्घ दिएर सम्मान गर्नु हो । जिवनको परम्परासँगै छठ पर्वले पनि हामीलाई जिवन जिउने संदेश दिने गरेको छ। माटो, जल, वायु, अग्नी, आकाशसँगको सेरोफेरोमा जिवन निर्भर रहेकाले छठमा जल, सूर्य र माटोमा आधारित रहेर छठी माईको पूजा गरिन्छ ।’
मिथिलाञ्चलसहित तराई-मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वमा कृषिजन्य वस्तुको विशेष महत्त्व रहने उनले बताए ।उनले छठ पर्व किसानको महान पर्व भएकाले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको समेत बताए। छठमा गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको उनको भनाई छ ।
छठ पूजाका लागि सम्पूर्ण सामग्रीसहित पोखरी र सरोबर घाट पुगेका व्रतालु साँझ द्वीप, धूप, अगरबत्ती प्रज्वलित गरी सूर्य देवता र छठि माताको पूजाआराधना गरी आज राति पोखरी घाटमै जाग्राम बस्ने भएकाले प्रदेश सरकारले यस पटक दुई दिन बिदा दिएको उनले जानकारी दिए । छठ पूजाले मनोकामना पुरा हुने विश्वास जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढ्दै गएको जनाउँदै उनले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्वको रुपमा समेत मनाउँने गरिएको बताए ।




प्रतिक्रिया