महाशिवरात्रि : भोली पशुपति क्षेत्रमा यस्तो हुनेछ ट्राफिक व्यवस्था


काठमाडौं, फागुन २ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त पार्न सुरक्षा योजना तयार पारेको छ ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ। बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुने छन्। त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने जनाइएको छ। त्यसका लागि करिडोर सडक र भित्री सडकसमेतमा ट्राफिक प्रहरी खटाइने छ ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा भने डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाइएको छ ।

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरूलाई आवश्यकता अनुसार निषेध गरिएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।

यस्तो छ पार्किङको व्यवस्था
१.सिफल चौरमा दर्शानार्थीहरुको सवारी, पास वाहक सवारी साधनहरु, सुरक्षाकर्मीका सवारी साधनहरु ।
२. गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु ।
३. पशुपति विकास कोषको कार्यालय / भण्डारखालमा सवारी पासवाहक सवारी साधनहरु ।
४.तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु ।
५.वनकाली क्षेत्रमा शिविर संचालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु ।
६.प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधनहरु ।