काठमाडौं, फागुन १७ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज सुपर एठका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन रहेको छ ।
यस्तै बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिज खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन रहेको छ ।
समूह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । यस्तै समूह २ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । टी–२० विश्वकपको पहिलो सेमिफाइनल आउँदो बुधवार र दोस्रो सेमिफाइनल बिहीवार हुनेछ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।




प्रतिक्रिया