काठमाडौं, जेठ २६ । काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको हो ।
यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोलले नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन् ।
‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरका क्षेत्र घोषणा २०८३ को कार्यान्वयन सुनिश्चितताका निमित्त आवश्यक पूर्वाधारहरू खडा गर्न, संयन्त्र विकास गर्न, सम्बन्धित कार्यालय, निकाय तथा स्थानहरूमा घोषणा सम्बन्धी सूचनाहरू सम्प्रेषण गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौँ,’ हस्ताक्षरकर्ताहरुले संयुक्त प्रतिवद्धता जनाएको छ ।
घोषणा तथा घोषणा कार्यान्वयन सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई सांस्कृतिक सहरसँगै मानवतामा आधारित सहरको पहिचानका रुपमा स्थापित गराउने कामप्रति थप जिम्मेवार हुन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौं घोषणा गरिएको बताइन् ।
‘हामीले विगत ९ वर्षदेखि निरन्तर काम गरिरहेका छौँ । र, भविष्य यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेछौँ ।’ डंगोलले भनिन्, ‘आजसम्म सहरमा देखिएका भेटिएका सबै सहयोगापेक्षीहरुलाई उद्धार गरेका छौँ । भोलि कोही सडकमा यसै गरी देखिनुभयो भने, भेटिनुभयो भने तत्काल उद्धार तथा पुनःस्थापनाका लागि संयन्त्र परिचालन गर्नेछौँ ।’
समारोहमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि जे हुनुपथ्र्यो, त्यो हुन नसकेको बताउँदै मानवता प्रवर्धनमा अब कमजोरी हुन दिनु नहुने बताए । उनले विगतको प्रायश्चितलाई आगामी दिनमा गरिने कर्मबाट पूरा गर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया