गोदावरी (कैलाली), २६ जेठ। गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी गर्दै आएका छन् ।
सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उनले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल भएका छन् । रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा सात हजारसम्ममा बिक्री गर्छन् ।
बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उनले बताए । उनले सबै खर्च कटाएर मासिक ७० हजार बचत गर्ने गरेको सुनाए । बङ्गुर खोरको दैनिक हेरचाह उनका बुबा र आमाले गर्दै आएका छन् भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आएका छन् ।
बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन् । बङ्गुरपालनसँगै उनले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताए । गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरे । रासस



प्रतिक्रिया