काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो र यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको ‘बजेट समीक्षा कार्यक्रम’ मा बोल्दै डा. महतले बजेटका सबल र दुर्बल पक्षबारे आफ्नो धारणा राखेका हुन् ।
पूर्वअर्थमन्त्री महतले देशलाई आत्मनिर्भर बनाउन आन्तरिक रूपमै उत्पादन हुने वस्तुहरूको आयातमा भन्सार दर बढाउनुपर्ने सुझाव दिए । “हामी आत्मनिर्भर हुने हो भने यहीँ उत्पादन हुने सामानहरूमा भन्सार दर बढाउनुपर्छ,” उनले भने, “यो नबढाएसम्म कृषि उत्पादन बढ्न सक्दैन । तर, यस विषयमा वर्तमान बजेटले केही पनि बोल्न सकेन ।”
सरकारले बजेटमार्फत अनावश्यक सरकारी संरचनाहरू हटाउने विषय सकारात्मक रहेको उनले उल्लेख गरे । आफ्नो कार्यकालको स्मरण गर्दै उनले भने, “मैले पनि आफ्नो समयमा धेरै संरचना हटाउन खोजेको थिएँ, तर राजनीतिक तानातानका कारण सकिनँ । अहिले सरकारले चालेको यो कदम ठीक छ ।”
बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने मोडालिटीबारे बोल्दै उनले सरकारी स्वामित्व रक्षा गर्दै निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।
“बन्द उद्योगको जमिन र सरकारी लगानी सरकारकै स्वामित्वमा रहनुपर्छ । निजी व्यवसायीले निश्चित शर्तमा उद्योग चलाउन चाहन्छन् भने सरकारले चलाउन दिनुपर्छ,” महतले थपे, “राज्य आफैँले हेटौंडा कपडा उद्योग वा रबर उद्योग चलाउँछु भन्नु पैसा डुबाउनु हो । सरकारले उद्योग चलाएर चल्दैन, निजी क्षेत्रले नै सञ्चालन गर्ने हो भन्ने कुरा बिर्सनु हुँदैन ।”
उनले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पनि तत्काल रणनीतिक साझेदारीमा लगेर कार्यान्वयन अघि बढाउन सुझाव दिए ।
सुशासनको परिभाषा दिँदै डा. महतले ‘म सबै जान्दछु’ भन्नु गुड गभर्नेन्स नभएको टिप्पणी गरे । “कानुनको अक्षरशः पालना गराउनु नै सुशासन हो,” उनले प्रष्ट पारे ।
बजेटले राखेको ७ प्रतिशतको उत्पादन वृद्धि र पूँजीगत खर्च शतप्रतिशत गर्ने लक्ष्य पूरा भए आफूहरू खुसी हुने भन्दै उनले तर हालको खाकामा कार्यान्वयनको अस्पष्टता देखिएको औंल्याए ।
सरकारलाई सचेत गराउँदै उनले अन्त्यमा भने, “उत्पादनको क्षेत्रमा निजी क्षेत्रमाथि विश्वास गर्ने तर कुनै एउटा सीमित व्यावसायिक घरानाले मनोपोली नगरोस् भन्नेतर्फ सरकार चनाखो हुनुपर्छ ।”



प्रतिक्रिया