काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक एवं सांसद क्रान्तिशिखा धितालमाथि कारबाहीको माग गर्दै शहीद परिवार र घाइतेहरूले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।
धितालले सार्वजनिक वृत्त तथा सञ्चारमाध्यममा व्यक्त गरेका विचार र वक्तव्यहरूले आन्दोलनका घाइते एवं शहीद परिवारको भावनामा गम्भीर ठेस पुर्याएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।
जेनजी शहीद कल्याणकारी सभाका अध्यक्ष नारायण श्रेष्ठका अनुसार धितालमाथि कारबाही प्रक्रिया अगाडि नबढाइए सम्म आन्दोलन जारी राखिनेछ। धितालले शहीद तथा घाइतेहरूको अवमूल्यन हुने गरी गैरजिम्मेवार अभिव्यक्ति दिएकाले कारबाहीको माग गर्नुपरेको सभाको ठहर छ।
पत्रकार सम्मेलनमार्फत शहीद परिवार र घाइतेहरूले आफ्ना आधिकारिक मागहरू सार्वजनिक गर्नुका साथै आगामी रणनीति र विरोधका कार्यक्रमबारे जानकारी गराउने जनाइएको छ।
धितालले यही भदाै २३ गते जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आयोजित स्मृति कार्यक्रमको शैलीलाई लिएर असन्तुष्टि जनाएपछि सहिद परिवारहरूले उनीमाथि आपत्ति जनाएका हुन्।
नयाँ बानेश्वरस्थित जलेकाे संसद भवनमा आयोजित सहिद स्मृति कार्यक्रममा धर्मगुरुहरूको उपस्थिति र मञ्च व्यवस्थापनको शैलीप्रति धितालले सामाजिक सञ्जालमार्फत “हामीले नै जेनजिहरूको अपमान गरिरहेका छौँ“ भन्दै सरकार र गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठाएकी थिइन् ।




प्रतिक्रिया